काठमाडौ , १० भदौ । रसुवामा भोटेकोसी नदीमा आएको अप्रत्याशित बाढीका कारण विभिन्न जलविद्युत् आयोजना प्रभावित भएका छन्। ऊर्जा मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार बाढीका कारण रसुवा तथा आसपासका क्षेत्रमा रहेका कुल ४३१.१ मेगावाट क्षमताका १२ वटा विद्युत् आयोजना प्रभावित हुने अवस्था देखिएको छ।मन्त्रालयको विवरणअनुसार १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना प्रत्यक्ष प्रभावित भएको छ। यो आयोजना नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीअन्तर्गत पर्छ।
त्यस्तै २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजना पनि प्रत्यक्ष प्रभावित भएको मन्त्रालयले जनाएको छ। चिलिमे पनि नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनीअन्तर्गतको आयोजना हो।२० मेगावाट क्षमताको लाङटाङ जलविद्युत् आयोजना पनि बाढीबाट प्रत्यक्ष प्रभावित भएको छ। उक्त आयोजना निजी क्षेत्रको आईपीपीअन्तर्गत सञ्चालनमा रहेको छ।
यसैगरी ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ (UT3A) आयोजना र २४ मेगावाटको त्रिशूली जलविद्युत् आयोजना पनि प्रत्यक्ष प्रभावित भएका छन्। दुवै आयोजना नेपाल विद्युत् प्राधिकरणअन्तर्गत रहेका छन्।मन्त्रालयको विवरणमा १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजना र २५ मेगावाट क्षमताको नेपाल विद्युत् प्राधिकरणको सोलार आयोजना समेत प्रत्यक्ष प्रभावित भएको उल्लेख छ।
यसका अतिरिक्त ७८ मेगावाटको सालासुङ्गी (साञ्जेन), १४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन, १४.८ मेगावाटको माथिल्लो मैलुङ र ५ मेगावाटको मैलुङ आयोजना पनि मन्त्रालयको प्रभावित आयोजनाको सूचीमा छन्।मन्त्रालयको तथ्यांकअनुसार सूचीमा रहेका आयोजनाको कुल क्षमता ४३१.१ मेगावाट रहेको छ। यद्यपि, सार्वजनिक विवरणमा आयोजनाको उत्पादन पूर्ण रूपमा बन्द भएको वा भौतिक संरचनामा भएको क्षतिको विस्तृत विवरण भने खुलाइएको छैन।
बाढीपछि जलविद्युत् आयोजनाका संरचना, प्रसारण लाइन तथा अन्य पूर्वाधारमा भएको वास्तविक क्षतिको थप विवरण संकलन भइरहेको छ। सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको मूल्यांकनलाई प्राथमिकतामा राखेको छ।









