काठमाडौ , १० भदौ | रसुवाको भोटेकोसी नदीमा आएको आकस्मिक बाढीपछि सरकारले खोज, उद्धार तथा राहतका लागि सरकारी संयन्त्रलाई परिचालन गरेको छ।बाढी प्रभावित क्षेत्रमा उद्धार तथा स्वास्थ्य सेवा उपलब्ध गराउन नेपाली सेनाका दुई वटा उद्धार हेलिकप्टर र स्वास्थ्यकर्मीको टोलीसहितको एमआई–१७ हेलिकप्टर नुवाकोट र रसुवातर्फ पठाइएको छ। सेनाले मेडिकल टिमसहितको एमआई–१७ हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाएको पुष्टि गरेको छ।
त्यसैगरी, बाढीको जोखिममा रहेका धादिङ, नुवाकोट, रसुवा र चितवनका सबै सुरक्षा निकायलाई फिल्डमा परिचालन गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई खोज तथा उद्धारमा खटाइएको सरकारले जनाएको छ।सरकारले सम्भावित थप उद्धार तथा राहतका लागि सबै हेलिकप्टर कम्पनीलाई तयारी अवस्थामा रहनसमेत निर्देशन दिएको छ।
यसैबीच, उद्धार तथा समन्वयका लागि धादिङ, नुवाकोट, रसुवा र चितवनमा नेपाल टेलिकमको फोन तथा डेटा सेवा निःशुल्क गरिएको छ। यसबाट प्रभावित क्षेत्रमा रहेका नागरिक, सुरक्षाकर्मी तथा उद्धार टोलीबीच सञ्चार र समन्वय सहज हुने अपेक्षा गरिएको छ।बाढीपछि सरकारले नदी तटीय क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ। रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ।
यसअघि सरकारले जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ भने उद्धार तथा राहतका लागि विपद् व्यवस्थापनका संयन्त्रलाई सक्रिय बनाएको छ।भोटेकोसीमा आएको बाढी तिब्बततर्फबाट अचानक प्रवेश गरेको प्रारम्भिक जानकारी छ। बाढीको कारणबारे थप अध्ययन र समन्वय भइरहेको छ।









