काठमाडौँ,१० भदौ । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले रसुवाको भोटेकोशी लगायतका क्षेत्रमा आएको भीषण बाढीका कारण उत्पन्न सङ्कटलाई मध्यनजर गर्दै तत्काल राष्ट्रिय विपद् घोषणा गर्न सरकारसँग माग गर्नु भएको छ ।प्रतिनिधि सभाको बुधबारको बैठकमा महरले बाढीका कारण ८०० भन्दा बढी नागरिक बेपत्ता भएको र २०० भन्दा बढी मानिस अझै उद्धारको पखाईमा रहेको जानकारी दिनु भएको हो ।
तिब्बतको जिबुङ क्षेत्रमा भएको हिमताल विस्फोटपछि भोटेकोशी हुँदै आएको बाढीले नुवाकोट, धादिङ र चितवन लगायतका क्षेत्रमा अपूरणीय क्षति पु¥याएको उहाँले बताउनु भयो । महरका अनुसार नुवाकोटमा ३ जना र धादिङमा ४ जनाको शव फेला परिसकेको छ भने मानवीय क्षतिको सङ्ख्या अझै बढ्न सक्ने देखिएको छ ।प्रमुख सचेतक महरले सरकारलाई युद्धस्तरमा राहत, उद्धार र घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचार प्रक्रिया अगाडि बढाउन, बाढीले पु¥याएको क्षतिको यथार्थ विवरण सङ्कलन गरी वास्तविक रिपोर्ट सार्वजनिक गर्न, चीनले यसबारे पूर्व जानकारी दिएको थियो कि थिएन, त्यसमा सरकारले स्पष्ट पार्न, उद्धार र राहतका लागि राजनीतिक दल, मानवअधिकारकर्मी, नागरिक समाज र विभिन्न सङ्घ–संस्थालाई गोलबन्द गर्दै राष्ट्रिय आह्वान गर्न माग गर्नु भएको छ ।
त्यस्तै उहाँले बाढी पीडितहरूलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न र बाढीका कारण ठप्प भएको जनजीवन र आवागमनलाई सुचारु गर्न पुनर्निर्माण र पुनस्र्थापनाका काम तत्काल सुरु गर्न पनि माग गर्नु भएको छ ।यस्तो सङ्कटको समयमा सत्ता पक्ष र प्रतिपक्ष नभनी सिङ्गो देश एक ठाउँमा उभिनुपर्ने महरले बताउनु भयो । उहाँले एमालेको आजै बस्ने आकस्मिक बैठकले थप निर्णय लिने र पार्टीका धेरै कार्यकर्ताहरू उद्धारका लागि घटनास्थलतर्फ गइसकेको जानकारी दिनु भयो ।









