दलको झण्डा होइन, देशको झण्डा बोकेर उद्धारमा जुट्न लामिछानेको आह्वान

काठमान्डौ,१० भदौ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को समयमा सत्तापक्ष र प्रतिपक्षभन्दा माथि उठेर सबै राजनीतिक दल एकजुट हुनुपर्ने बताउन ुभयो ।

उहाँले बिहानदेखि प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्रीलगायत सम्बन्धित सरकारी निकायका अधिकारीसँग निरन्तर सम्पर्कमा रहेर उद्धार तथा राहतका योजनाबारे जानकारी लिइरहेको बताउनु भयो । नागरिकको ज्यान बचाउनु अहिलेको सबैभन्दा महत्वपूर्ण प्राथमिकता भएकाले सरकारले आफ्नो सम्पूर्ण सामथ्र्य त्यसतर्फ केन्द्रित गर्नुपर्ने उहाँको भनाइ छ ।

लामिछानेले बाढी प्रभावित रसुवा र धादिङका नदीतटीय क्षेत्रका बासिन्दालाई थप सतर्क रहन तथा सरकारी संयन्त्रको सम्पर्कमा रहन आग्रह गर्नुभयो । चितवन, नवलपरासीलगायत नदीतटीय क्षेत्रमा पनि सावधानी अपनाउन उहाँले अपिल गर्नुभयो ।

उहाँले प्रभावित क्षेत्रमा पर्याप्त सुरक्षा जनशक्ति तथा उपलब्ध सबै स्रोतसाधन परिचालन गर्न सरकारसँग आग्रह गर्नुभयो । साथै राजनीतिक दलसँग रहेका तालिमप्राप्त तथा विपद् व्यवस्थापनमा अनुभवी जनशक्तिलाई सरकारी निकाय र स्थानीय प्रशासनसँग समन्वय गरी उद्धार तथा राहतमा परिचालन गर्न सबै दललाई आह्वान गर्नुभयो ।

‘कुनै दलको झण्डा लिएर होइन, देशको झण्डा लिएर एकैपटक उद्धार र राहतमा उत्रिनुपर्छ,’ उहाँले भन्नुभयो ।

लामिछानेले २०७२ सालको भूकम्पमा जस्तै अहिले पनि राजनीतिक दलहरूले राजनीतिक मतभेदभन्दा माथि उठेर राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताउनु भयो । रास्वपा संसद्को सबैभन्दा ठूलो राजनीतिक दल भएकाले विपद्को समयमा थप जिम्मेवारीका साथ समन्वय र सहयोग गर्ने उनले प्रतिबद्धता जनाउनु भयो ।

उहाँका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत राहत तथा उद्धारका लागि रकम परिचालन गरिरहेको छ । सरकारका विभिन्न मन्त्रालय र मन्त्रीहरू पनि प्रभावित क्षेत्रमा सक्रिय रहेको उहाँले बताउनुभयो ।

लामिछानेले खोजी तथा उद्धारलाई पहिलो प्राथमिकता दिनुपर्ने र त्यसपछि राहत तथा पुनस्र्थापनाको काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । विगतका विपद्मा विदेशमा रहेका नेपालीले समेत सहयोग गर्दै आएको स्मरण गर्दै उहाँले यसपटक पनि देशबाहिर रहेका नेपालीबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले विपद्पछि हुने पुनस्र्थापनाको काम चुनौतीपूर्ण भए पनि राज्यका सबै संयन्त्र परिचालन गरेर प्रभावित नागरिकलाई पुनस्र्थापित गर्न सकिने बताउनु भयो ।

लामिछानेले विपद्का बेला अपुष्ट समाचार तथा कृत्रिम बुद्धिमत्ता (एआई)बाट तयार गरिएका भ्रामक फोटो तथा भिडियो प्रसारण नगर्न आग्रह गर्नुभयो । यस्ता सामग्रीले प्रभावित नागरिकमा थप त्रास सिर्जना गर्ने भन्दै उहाँले जिम्मेवार रूपमा सूचना प्रवाह गर्न सबैलाई आग्रह गर्नुभयो ।

स्वास्थ्य सेवातर्फ अस्पताल तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको र नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरसमेत स्ट्यान्डबाइमा रहेको जानकारी आफूले पाएको उहाँले बताउनु भयो ।

उहाँले विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि राजनीतिक दलका नेता तथा जनप्रतिनिधि अनावश्यक रूपमा भीडभाडसहित पुग्दा सुरक्षा निकायमाथि थप दबाब पर्न सक्ने बताउनुभयो । आवश्यक अवस्थामा बाहेक आफू फिल्डमा नजाने र सरकारलाई प्रभावकारी रूपमा काम गर्न सहजीकरण गर्ने उहाँको भनाइ छ ।

लामिछानेले राहत वितरणमा समेत स्थानीय प्रशासनसँग समन्वय गरी एकद्वार प्रणाली अपनाउनुपर्ने बताउनु भयो । राहत पहुँच भएका स्थानमा मात्रै केन्द्रित नभई दुर्गम तथा राज्यको पहुँच कम भएका क्षेत्रका नागरिकसम्म पनि पुर्याउनुपर्नेमा उहाँले जोड दिनुभयो ।

विपद्को समयमा महिला, गर्भवती, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायलाई उद्धार र राहतमा प्राथमिकता दिनुपर्ने उहाँले बताउनु भयो ।

उहाँले उद्धारमा खटिने राजनीतिक दल तथा संघसंस्थाका स्वयंसेवकले पर्याप्त तालिम र उपकरणबिना जोखिम नलिन आग्रह गर्नुभयो । तालिमप्राप्त उद्धारकर्मीसँग समन्वय गरेर काम गर्दा थप मानवीय क्षति रोक्न सकिने उहाँको भनाइ छ ।

बाढीमा नेपाली नागरिकसँगै विदेशी पर्यटकसमेत प्रभावित भएको हुनसक्ने भन्दै लामिछानेले अन्तर्राष्ट्रिय समुदायलाई नेपाल सरकारले सबै प्रभावितको उद्धार, उपचार र सुरक्षामा ध्यान दिने विश्वास दिलाउनुभयो ।

उहाँले विपद्को समयमा घटनास्थलमा अनावश्यक रूपमा भीड जम्मा भएर भिडियो खिच्ने कार्य नगर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो । यस्तो गतिविधिले उद्धारमा खटिएका सुरक्षाकर्मीलाई थप चुनौती हुने र आफैं पनि जोखिममा पर्न सक्ने उहाँले बताउनु भयो ।

लामिछानेले रास्वपाले आकस्मिक बैठकमार्फत राहत कोषमा सहयोग गर्ने रकम तय गर्ने तथा पार्टीका सांसदलाई सामूहिक रूपमा विपद् व्यवस्थापनमा परिचालन गर्ने जानकारी दिनुभयो ।

उहाँले अहिले नै सरकारको कार्यसम्पादनको समीक्षा गर्न हतार नगर्न प्रतिपक्षी दल, नागरिक समाज तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरर्नुभयो । अहिलेको प्राथमिकता नागरिकको ज्यान बचाउनु भएको भन्दै उद्धार, राहत र पुनस्र्थापनापछि मात्रै सरकारको कामको समीक्षा गर्नुपर्ने उहाँको भनाइ छ ।

लामिछानेले भविष्यमा यस्ता विपद्बाट हुने क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणाली र प्रविधिलाई विकासको प्रमुख आधार बनाउनुपर्ने बतानुभयो । ठूला भौतिक पूर्वाधार निर्माणलाई मात्र विकासको सूचक मान्न नहुने भन्दै उहाँले विपद् आउनुअघि सूचना प्राप्त गर्ने प्रविधि र संयन्त्रको विकासलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

उहाँले सरकारलाई नागरिकको खोजी तथा उद्धार, राहत र पुनस्र्थापनामा सम्पूर्ण क्षमता परिचालन गर्न आग्रह गर्दै विपद्को समयमा सबै राजनीतिक दल एकजुट भएर राष्ट्रिय ऐक्यबद्धताको उदाहरण प्रस्तुत गर्नुपर्ने बताउनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

ग्यिरोङ नाकाको सडक, बिजुली र सञ्चार ठप्प

काठमाडौँ , १० भदौ । रसुवाको भोटेकोशी हुँदै नेपाल प्रवेश गर्नुअघिको भीषण बाढीको असर चीनको तिब्बत क्षेत्रमा पनि परेको छ । चिनियाँ सञ्चारमाध्यम पिपुल्स डेलीका

नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त

काठमान्डौ,१० भदौ । नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति नेपालस्थित पाकिस्तानी दूतावासले गहिरो दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको छ । दूतावासले कठिन यस

बाढीबाट मृत्यु हुनेको संख्या २२ पुग्यो

काठमान्डौ,१० भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ। बागमती प्रदेश प्रहरी कार्यालयको पछिल्लो विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ र चितवनमा गरी

बाढी प्रभावितका लागि भारत, चीन र विश्व बैंकको आपतकालीन सहयोग

काठमाडौँ ,१० भदौ । विपद्ग्रस्त नेपालका बाढी प्रभावितको उद्धार र पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न भारत, चीन र विश्व बैंकले तत्काल समन्वय गरेका छन्।बाढीको समाचार

घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमान्डौ ,१० भदौ । बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौंस्थित

हवाई भाडा वृद्धिप्रति खुश्बु ओलीको आपत्ति

काठमान्डौ ,१० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले मुलुक प्राकृतिक विपद् र राष्ट्रिय संकटको घडीमा रहेका बेला निजी वायुसेवा कम्पनीहरूले हवाई