काठमाडौँ , १० भदौ। चीनतर्फबाट आएको आकस्मिक बाढीका कारण रसुवा र नुवाकोटमा विद्युत् उत्पादन तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। बाढीबाट दुवै जिल्लाका सञ्चालनमा रहेका ९ र निर्माणाधीन ५ गरी १४ विद्युत् आयोजना प्रभावित भएका हुन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार रसुवामा पाँच सञ्चालनमा रहेका र तीन निर्माणाधीन गरी आठ आयोजना प्रभावित भएका छन् । ती आयोजनाको कुल क्षमता ५७८ दशमलव ४२ मेगावाट छ । रसुवामा प्रभावित आयोजनामा माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट), रसुवागढी (१११ मेगावाट), रसुवा भोटेकोशी (१२० मेगावाट), साञ्जेन खोला (७८ मेगावाट), माथिल्लो मैलुङ ‘ए’ (६ दशमलव ४२ मेगावाट), मैलुङ खोला (५ मेगावाट), लाङटाङ खोला (२० मेगावाट) र चिलिमे (२२ मेगावाट) रहेका छन्।
त्यस्तै, नुवाकोटमा चार सञ्चालनमा रहेका र दुई निर्माणाधीन गरी छ वटा आयोजना प्रभावित भएका छन्। यी आयोजनाको कुल क्षमता १७५ दशमलव ६ मेगावाट रहेको मन्त्रालयले जनाएको छ । नुवाकोटमा त्रिशूली जलविद्युत् आयोजना (२४ मेगावाट), देवीघाट (१४ दशमलव १ मेगावाट), माथिल्लो त्रिशूली–३ ए (६० मेगावाट), माथिल्लो त्रिशूली–३ बी (३७ मेगावाट), मिडल त्रिशूली गंगा (१५ दशमलव ६ मेगावाट) र २५ मेगावाट क्षमताको सौर्य आयोजना प्रभावित भएका छन्।
बाढीका कारण सम्पर्क हुन नसकेका कर्मचारी, मजदुर तथा स्थानीयको विवरण संकलन गरी उद्धारका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ। नेपाल विद्युत् प्राधिकरणले उद्धारका लागि सातवटा सवारीसाधन प्रभावित क्षेत्रमा पठाएको छ भने थप १४ वटा सवारीसाधन तयारी अवस्थामा राखेको छ।विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन प्राधिकरणले प्राविधिक टोली परिचालन गरेको छ। प्रभावित आयोजनाको विस्तृत क्षतिको विवरण संकलन तथा प्राविधिक मूल्याङ्कन समेत भइरहेको मन्त्रालयले जनाएको छ।
यसैगरी, तल्लो तटीय क्षेत्रमा थप क्षति हुन नदिन जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले दुई लाखभन्दा बढी एसएमएसमार्फत पूर्वसूचना पठाएको छ। तर बाढीका कारण केन्द्रका गेज स्टेसनलगायत संरचनामा समेत क्षति पुगेकाले थप सुरक्षा सूचना उपलब्ध गराउन समस्या भएको मन्त्रालयले जनाएको छ।क्षतिको यथार्थ विवरण संकलन गर्न योजना महाशाखाका सहसचिवको संयोजकत्वमा समिति गठन गरिएको मन्त्रालयका सहायक प्रवक्ता शालिग्राम भण्डारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।









