पथरी, २४ भदौ । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडबाट बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।
वर्ल्डलिंकका प्रमुख कार्यकारी केशव नेपाल र जनसम्पर्क व्यवस्थापक विजय शिवाकोटीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको छ ।
जनसम्पर्क व्यवस्थापक सिवाकोटीलाई उद्धृत गर्दै वर्ल्डलिंकका कोशी क्षेत्रीय जनसम्पर्क प्रबन्धक राजन तिम्सिना भन्नुहुन्छ ,“विपद्को यस्तो कठिन घडीमा वर्ल्डलिंकबाट गरिएको यो यसपटकको आर्थिक सहयोगसँगै प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि हामीले विभिन्न माध्यमबाट निरन्तर सहयोग गर्दै आएका छौँ र आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिनेछौँ । देश र समाजलाई अप्ठ्यारो पर्दा साथ दिनु हाम्रो सामाजिक उत्तरदायित्व मात्र होइन, मानवीय कर्तव्य पनि हो।”
उहाँले यो सहयोग केवल आर्थिक योगदान मात्र नभइ विपदमा परेका हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनी प्रतिको साथ, सहानुभूति र सामाजिक जिम्मेवारीप्रतिको प्रतिबद्धता रहेको वताउनु भयो । संस्थाले ‘उद्धारमा साथ,राहतमा हात, पुनःस्थापनामा सहकार्य’ को स्लोगन अघि सारेको छ । ‘किनकि विपद्को घडीमा हामी एक्ला छैनौँ—हामी सँगै छौँ’ भनिएको छ ।









