दमक, ८ असोज । दमक नगरपालिकाले आफ्नो कार्यप्रगति समीक्षासहितको विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ। बिहीबार पशुपति मन्दिर परिसरमा आयोजित एक कार्यक्रमका बीच नगरपालिकाले आफ्ना कार्यक्रमहरूको समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८३/८४ को बजेट पुस्तिकासमेत सार्वजनिक गरेको हो।
समीक्षा कार्यक्रममा नगरपालिकाको प्रगति विवरण प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले दमकले हरेक वर्ष आन्तरिक आम्दानी वृद्धि गरिरहे पनि विकास निर्माणतर्फ भने सोचेजस्तो नतिजा हासिल हुन नसकेको बताउनुभयो। समीक्षा बैठकमा उपस्थित सहभागीहरूले समेत पुँजीगत खर्चभन्दा चालु खर्चको हिस्सा धेरै भएको भन्दै नगरपालिकाको कार्यसम्पादन क्षमतामाथि प्रश्न उठाएका थिए। जवाफमा नगरपालिकाले जेन–जी आन्दोलनलगायतका कारण काम प्रभावित भएको स्पष्टीकरण दिएको थियो।
नगरपालिकाले सार्वजनिक गरेको विवरण अनुसार गत आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ५४ करोड ५४ लाख २२ हजार रुपैयाँको कुल बजेट विनियोजन गरिएको थियो। जसमध्ये वर्षभरिमा १ अर्ब ७ करोड ४० लाख ४४ हजार रुपैयाँ अर्थात् ६९ दशमलव ४९ प्रतिशत मात्र खर्च भएको छ।
शीर्षकगत विवरण अनुसार प्रशासनिक तथा नियमित कामकारबाहीका लागि छुट्याइएको चालु बजेट प्रभावकारी रूपमा खर्च भएको देखिन्छ। कुल ८६ करोड ५५ लाख रुपैयाँ चालु बजेटमध्ये ७२ करोड ८० लाख रुपैयाँभन्दा बढी (८४ दशमलव १० प्रतिशत) रकम खर्च भएको छ।
तर, नगरको भौतिक पूर्वाधार र विकास निर्माणसँग जोडिएको पुँजीगत खर्च भने निराशाजनक छ। ६७ करोड ९३ लाख रुपैयाँ बराबरको पुँजीगत बजेट विनियोजन गरिएकोमा वर्षभरिमा जम्मा ३४ करोड ५९ लाख रुपैयाँ (५० दशमलव ९२ प्रतिशत) मात्र खर्च भएको छ।
कार्यक्रममा दमक नगरपालिकाको सामाजिक विकास समिति प्रमुख शारदा भट्टराई सापकोटा र वडा नम्बर ९ का वडाध्यक्ष कुवेर भट्टराईले चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट नगरको विकास र समृद्धिलाई केन्द्रमा राखेर ल्याइएको बताउनुभयो। उहाँहरूले अनावश्यक खर्च कटौती गर्दै अनिवार्य र प्राथमिकता प्राप्त कार्यक्रमहरू मात्र राखिएको दाबी गर्नुभयो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सञ्चारकर्मीहरूले नगरपालिकाको समग्र कार्यसम्पादनमाथि टिप्पणी गरेका थिए। नेकपा दमक नगर कमिटीका अध्यक्ष रवि केसीले अहिले हलभित्र गरिएका टिप्पणीभन्दा पनि केही महिनापछि हुने निर्वाचनमार्फत जनताले नै स्थानीय सरकारको कामको वास्तविक समीक्षा गर्ने बताउनुभयो।
दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले नगरपालिकाको नेतृत्व राजनीतिक दलहरूबाट निर्वाचित प्रतिनिधिहरूबाटै भएकाले कहिलेकाहीँ राजनीतिक मतभेद देखिनु स्वाभाविक भएको स्वीकार गर्नुभयो। यद्यपि, दमकको विकास र समृद्धिका सवालमा भने सबै जनप्रतिनिधि एकै ठाउँ उभिएर साझा निर्णयका साथ अघि बढेको उहाँको दाबी थियो।
राजस्व संकलनमा निरन्तर सुधार
पुँजीगत खर्च कमजोर देखिए तापनि पछिल्ला वर्षहरूमा दमक नगरपालिकाको आन्तरिक राजस्व संकलनको अवस्था भने उत्साहजनक देखिएको छ। नगरपालिकाले सार्वजनिक गरेको पाँच वर्षको वित्तीय तथ्याङ्क अनुसार राजस्व संकलनको ग्राफ निरन्तर उकालो लागिरहेको छ।
पछिल्लो विवरण अनुसार आर्थिक वर्ष २०८२/८३ मा नगरपालिकाले २० करोड ४८ लाख ६० हजार ७८८ रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ।
यसअघिः
आर्थिक वर्ष २०७८/७९ मा १२ करोड ७० लाख १६ हजार रुपैयाँ,
आर्थिक वर्ष २०७९/८० मा १४ करोड ६८ लाख ३५ हजार रुपैयाँ,
आर्थिक वर्ष २०८०/८१ मा १७ करोड ९३ हजार रुपैयाँ,
र आर्थिक वर्ष २०८१/८२ मा १९ करोड २३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो।
पाँच वर्षको अवधिमा आन्तरिक आम्दानी करिब ६१ प्रतिशतले वृद्धि भई २० करोड नाघेको छ। यसले करको दायरा विस्तार भई आन्तरिक स्रोत मजबुत बन्दै गएको देखाउँछ। यद्यपि, यसरी संकलित स्रोतलाई विकास निर्माण र पुँजीगत खर्चमा पूर्ण रूपमा सदुपयोग गर्नुपर्ने चुनौती भने नगरपालिका सामु अझै कायमै छ।









