वीरगन्ज नाकामा चुनौती पुर्णबन्दै पोके तस्करी

वीरगन्ज ,१४ असोज। मुलुकको प्रमुख प्रवेशद्वारका रूपमा रहेको वीरगन्ज नाका पछिल्लो समय पोके तस्करी नियन्त्रणमा चुनौती बनेको छ । भारतबाट दैनिक उपभोग्य वस्तु, कपडा, मोबाइललगायतका सामान बोकेर महिला, बालबालिका तथा पुरुष समूहमा नेपाल प्रवेश गर्ने क्रमसँगै सुरक्षाकर्मी र तस्करबीच झडपका घटना पनि सार्वजनिक हुन थालेका छन् ।

गत असोज ७ गते राति सिर्सिया नाकामा ड्युटीमा खटिएका दुई सशस्त्र प्रहरी जवान तस्कर समूहसँगको झडपमा घाइते भए । भारतबाट कपडा बोकेर आउँदै गरेको महिलाको समूहबाट सामान नियन्त्रणमा लिन खोज्दा करिब एक दर्जन पुरुष तथा महिला पोके तस्करसँग सुरक्षाकर्मीको झडप भएको थियो । कपडा बरामद भएपछि सीमाक्षेत्रमा पुगेको तस्कर समूहले सुरक्षाकर्मीलाई घेरा हालेर आक्रमण गरेको बताइएको छ ।

सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी र पोके तस्करबीच झडप भएको यो पहिलो घटना भने होइन । वीरगन्ज आसपासका सीमाक्षेत्रमा पछिल्लो समय पोके तस्करीसँग सम्बन्धित विवाद र झडपका घटना बढ्दै गएको सुरक्षाकर्मी बताउँछन् ।

पर्साका सशस्त्र प्रहरी उपरीक्षक मोहनसिंह क्षेत्रीका अनुसार वीरगन्ज आसपासको सीमाक्षेत्रमा पोके तस्करी मुख्य चुनौतीका रूपमा देखिएको छ । उहाँका अनुसार केही परिवारको जीविकोपार्जनको आधार नै पोके तस्करी बनेकाले यसलाई नियन्त्रण गर्न थप चुनौती हुने गरेको छ ।

क्षेत्रीका अनुसार वीरगन्ज आसपासमा महिला, बालबालिका र पुरुष गरी करिब ५०० जना दैनिक पोके तस्करीमा संलग्न हुने गरेका छन् । तीमध्ये महिला तथा बालबालिकाको संख्या बढी रहेको उहाँको भनाइ छ। सामान बरामद वा पक्राउ परे पनि कतिपय व्यक्ति पुनः यही काममा फर्किने गरेको उहाँले बताउनु भयो ।

‘पहिला जस्तो संगठित तस्करीलाई हामीले पूर्ण रूपमा नियन्त्रणमा लिएका छौँ । तर महिला र बालबालिकाको प्रयोग गरेर हुने पोके तस्करी चुनौतीका रूपमा देखिएको छ,‘क्षेत्रीले भने । भारतको सीमावर्ती बजारमा नेपाली बजारको तुलनामा केही वस्तु सस्तो पर्ने भएकाले पोके तस्करीमा आकर्षण देखिएको व्यापारीहरू बताउँछन् । उनीहरूका अनुसार सीमावर्ती भारतीय बजारमा चिनी प्रतिकिलो ६४ भारतीय रुपैयाँमा पाइन्छ भने खाने तेल नेपाली बजारको तुलनामा प्रतिलिटर २० देखि ३० रुपैयाँसम्म सस्तो पर्छ ।

त्यस्तै, कपडामा प्रतिगोटा ३०० देखि ४०० रुपैयाँसम्म र मोबाइलमा ४ हजारदेखि ५ हजार रुपैयाँसम्म मूल्य अन्तर हुने गरेको व्यापारीहरूको भनाइ छ । सुरक्षाकर्मीका अनुसार वीरगन्ज नाकाबाट महिला तथा बालबालिकाको प्रयोग गरी दैनिक उपभोग्य वस्तुदेखि कपडा, मोबाइल र लागूऔषधसम्म पोके तस्करी हुने गरेको छ ।

सीमाक्षेत्रमा खटिने सुरक्षाकर्मीका अनुसार तस्करहरू बिहानैदेखि रातिसम्म टाउकोमा सामान बोकेर खेत, आली तथा सिर्सिया नदी हुँदै नेपाल प्रवेश गर्ने गर्छन् । कतिपयले सुरक्षाकर्मीको निगरानी कमजोर हुने समयको प्रतीक्षा गर्दै सीमाक्षेत्रमै २४ देखि ४८ घण्टासम्म बसेर सामान भित्र्याउने प्रयाससमेत गर्ने गरेको सशस्त्र प्रहरीले जनाएको छ । भारतबाट ग्रामीण नाकामार्फत भित्र्याइएका सामान वीरगन्जका विभिन्न बजार हुँदै देशका अन्य शहरसम्म पुग्ने गरेको बताइएको छ । कपडा, खाद्यान्नलगायतका सामान वीरगन्जका व्यापारीले बिलिङ गरेर अन्य शहरमा पठाउने गरेको समेत व्यापारीहरूको भनाइ छ ।

करोडौँको सामान बरामद

सीमामा निगरानी र सुरक्षा व्यवस्था कडा पारिए पनि पर्सामा भन्सार छलीका सामान बरामद हुने क्रम भने जारी छ । असोजको पहिलो साता जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज–१६ इनर्वागाउँ र छपकैयाबाट २० लाख ८१ हजार रुपैयाँभन्दा बढी मूल्यका खाद्यान्न तथा औषधि बरामद गरेको थियो । त्यस्तै, सशस्त्र प्रहरीले असोज ३ गते नैकाटोलाबाट मोबाइल पाट्र्स तथा पकाहामैनपुरबाट कपडासहित १७ लाख ५६ हजार ९९० रुपैयाँ बराबरका सामान बरामद गरेको थियो ।

सशस्त्र प्रहरी बल पर्साको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१÷८२ मा तस्करीमा संलग्न १६५ जना पक्राउ परेका थिए । सो अवधिमा २८ करोड ९२ लाख रुपैयाँ बराबरका सामान बरामद गरिएको थियो ।

आर्थिक वर्ष २०८२÷८३ मा १०७ जना पक्राउ परेका थिए भने २४ करोड ९८ लाख रुपैयाँ बराबरका सामान बरामद भएको सशस्त्र प्रहरीको तथ्यांक छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामै ३२ जना पक्राउ परिसकेका छन् भने ३ करोड ७१ लाख रुपैयाँ बराबरका सामान बरामद भएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको तथ्यांकले पनि तस्करी नियन्त्रणमा बरामदको मात्रा ठूलो रहेको देखाउँछ । आर्थिक वर्ष २०८०÷८१ मा ५३ करोड ४६ लाख रुपैयाँ बराबरका सामान बरामद हुँदा चार जनामाथि कारबाही चलाइएको थियो । आर्थिक वर्ष २०८१÷८२ मा ५९ करोड ९४ लाख रुपैयाँ बराबरका सामान बरामद हुँदा ११ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०८२÷८३ मा ६३ लाख ९६ हजार रुपैयाँ बराबरका सामान बरामद भएको र पाँच जना पक्राउ परेको प्रहरी तथ्यांक छ ।

चालु आर्थिक वर्षको भदौसम्म एक जना पक्राउ परेको र १७ करोड ५५ लाख रुपैयाँ बराबरका तस्करीका सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता चक्रबहादुर मल्लले बताउनु भयो ।

नेपाल–भारत सीमा क्षेत्रमा तस्करी नियन्त्रणका लागि सुरक्षा उपस्थिति बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । पर्सामा सशस्त्र प्रहरीको ७ सय जनाको दरबन्दी रहेकामा करिब ६ सय सुरक्षाकर्मी सीमाक्षेत्रमा खटिने गरेको सशस्त्र प्रहरी उपरीक्षक क्षेत्रीले बताउनु भयो ।

नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीसँगै नेपाल प्रहरीका जनपद प्रहरीसमेत परिचालन हुँदै आएका छन् । सुरक्षाकर्मीको उपस्थिति र निगरानी बढाइए पनि महिला तथा बालबालिकाको प्रयोग गरेर हुने पोके तस्करी नियन्त्रण गर्नु सीमाक्षेत्रको प्रमुख चुनौती बनेको सुरक्षा अधिकारीहरूको भनाइ छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्युत नियमन आयोगले तोक्यो आगामी आर्थिक वर्षको प्रसारण शुल्क

काठमाडौं , असोज १५। विद्युत नियमन आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि राष्ट्रिय विद्युत प्रसारण ग्रिडको प्रसारण शुल्क निर्धारण गरेको छ । आयोगले विद्युत उत्पादनदेखि

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

काठमाडौं , असोज १५। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा

लाइफलाइन अस्पताल र माङ्सेबुङ गाउँपालिकाबीच स्वास्थ्य सम्झौता

दमक, १५ असोज । इलामको माङ्सेबुङ गाउँपालिका र दमकमा रहेको लाइफलाइन अस्पतालबीच गाउँपालिकावासीलाई स्वास्थ्य सेवा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ।   बिहीबार अस्पतालमा आयोजित

पाथीभरा कुलिनरी आट्र्सका विद्यार्थीले दसैँको झझल्को यसरी देखाए

    दमक, १५ असोज । दमकमा होटल म्यानेजमेन्ट अध्ययन गराउँदै आएको पाथीभरा कुलिनरी आट्र्सका विद्यार्थीहरूले बिहीबार दसैँ विशेष कार्यक्रम आयोजना गरेका छन्।   दसैँको