काठमाडौं , असोज १५। सन् २०२६ को सेप्टेम्बर महिनामा ८८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सावर्जनिक गरेको तथ्याङ्क अनुसार सेप्टेम्बरमा हवाई मार्ग हुँदै कुल ८८ हजार २४८ जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका हुन् ।यो सङ्ख्या गत वर्ष (सन् २०२५) को सोही अवधिको तुलनामा १२.१२ प्रतिशतले बढी हो । गत वर्षको सेप्टेम्बरमा ७८ हजार ७११ जना पर्यटक नेपाल आएका थिए । नेपाल आउने पर्यटकमध्ये सबैभन्दा ठूलो हिस्सा छिमेकी मुलुक भारतको रहेको छ । भारतबाट कुल १७ हजार ४२५ जना पर्यटक आएका छन्, जुन कुल आगमनको १९.७५ प्रतिशत हो । गत वर्ष भारतबाट १५ हजार ५५६ जना पर्यटक आएका थिए ।
दोस्रो स्थानमा रहेको चीनबाट हुने आगमनमा भने उल्लेख्य वृद्धि देखिएको छ । चीनबाट सेप्टेम्बरमा ११ हजार २१२ जना (१२.७१ प्रतिशत) पर्यटक भित्रिएका छन् । गत वर्ष ५ हजार २३७ जना मात्र चिनियाँ पर्यटक आएकोमा यस वर्ष ११४ प्रतिशतभन्दा बढीको वृद्धि भएको हो । त्यसैगरी, संयुक्त राज्य अमेरिका तेस्रो स्थानमा रहँदै ८ हजार २९९ जना (९.४० प्रतिशत) पर्यटक भित्रिएका छन् । चौथो स्थानमा रहेको श्रीलङ्काबाट ७ हजार १०८ जना र पाँचौँ स्थानमा रहेको अस्ट्रेलियाबाट ४ हजार ८४२ जना पर्यटक नेपाल आएका छन् । बंगलादेशबाट ३ हजार ९६४ र बेलायत (यूके) बाट ३ हजार ७२५ जना पर्यटक आएका छन् ।
क्षेत्रगत हिसाबले दक्षिण एसियाली (सार्क) मुलुकहरूबाट सबैभन्दा बढी ३० हजार ८५ जना (३४.०९ प्रतिशत) पर्यटक आएका छन्, जुन गत वर्षभन्दा २३.८८ प्रतिशतले बढी हो । अन्य एसियाली मुलुकहरूबाट हुने आगमनमा ५७.९७ प्रतिशतको वृद्धि भई १९ हजार ८८८ जना पुगेको छ । यद्यपि, युरोप, अमेरिका र ओसियाना क्षेत्रबाट आउने पर्यटकको सङ्ख्यामा भने केही गिरावट आएको छ । युरोपबाट १५ हजार १४८ (८.७३ प्रतिशतले कमी), अमेरिका क्षेत्रबाट १० हजार १०७ (१२.२९ प्रतिशतले कमी) र ओसियानाबाट ५ हजार ४२२ जना (२५.८७ प्रतिशतले कमी) पर्यटक नेपाल आएका छन् ।









