रुपन्देही,८ मंसिर । नेपाल–भारतबीच हवाई रुटलाई दुईतर्फी बनाउने सहमतिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने आशा जगाएपछि लुम्बिनी प्रदेशको निजी क्षेत्र उत्साहित बनेको छ ।प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणपछि जारी संयुक्त वक्तव्यमा समेटिएको सहमतिलाई पर्यटन र आर्थिक गतिविधि विस्तारको महत्वपूर्ण उपलब्धिका रुपमा लिइए पनि यसको कार्यान्वयन र प्राविधिक अवरोध हट्नेमा भने निजी क्षेत्रले संशय व्यक्त गरेको छ ।नेपालले एक दशकभन्दा लामो समयदेखि उठाउँदै आएको हवाई रुटसम्बन्धी माग प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा सम्बोधन भएको हो ।
नेपाल र भारतबीच भएको सहमतिअनुसार हाल एकतर्फी रहेको बी३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति जुटेको छ । यसले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि देखिएको प्रमुख अवरोधमध्ये एक हटाउने अपेक्षा गरिएको छ ।प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भएको द्विपक्षीय छलफलपछि जारी संयुक्त वक्तव्यमा हवाई रुटलाई दुईतर्फी बनाउने विषय उल्लेख गरिएको छ ।सहमतिअनुसार यससम्बन्धी प्राविधिक पक्ष, सञ्चालन मोडालिटी तथा नागरिक उड्डयनका अन्य प्रस्तावलाई टुंगो लगाउन दुवै देशका अधिकारीबीच थप परामर्श हुनेछ ।नेपाल एसोसिएसन अफ ट्राभल एण्ड टुर्स अपरेटर्स (नाट्टा) लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापाले लामो समयदेखि नेपालले माग गर्दै आएको हवाई रुटसम्बन्धी विषयमा भएको सहमतिलाई सकारात्मक उपलब्धि बताँउनु भयो ।तर, प्राविधिक र आईकाओसँग सम्बन्धित प्रक्रिया पूरा नभएसम्म सहमतिले पूर्णता नपाउने उहाँको भनाइ छ ।
‘भैरहवाको हवाई रुट दुईतर्फी प्रयोग गर्ने सहमति सकारात्मक छ । तर आईकाओसँग सम्बन्धित प्रक्रिया, आईएलएस र आरएनपी एआर प्रविधि सञ्चालनमा देखिएका अवरोध तथा विमानको उडान उचाइ प्रयोगबारे भारतको धारणा स्पष्ट हुनुपर्छ,’ थापाले भन्नु भयो।हवाई रुट दुईतर्फी हुँदा जहाजको आवागमन सहज हुने, उडान खर्च घट्ने र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताँउनु भयो । सीमित हवाई रुटका कारण जहाजले लामो दूरी तय गर्नुपर्ने र आकाशमा होल्ड गर्नुपर्ने अवस्थाले हवाई सेवा महँगो भइरहेको उहाँको भनाइ छ ।हुनत यसअघि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक हवाई प्रवेशमार्गको विषय पटक–पटक उठ्दै आएको थियो । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएर सञ्चालनमा आएको ४ वर्ष पछि पनि सहज हवाई रुटको अभाव, प्राविधिक जटिलता, एयरलाइन्सको व्यावसायिक आकर्षण तथा अन्तर्राष्ट्रिय उडानको नियमितता कायम गर्न नसक्दा विमानस्थलले अपेक्षित गति लिन सकेको छैन ।
नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले प्रधानमन्त्री र भारतका सम्माननीय प्रधानमन्त्रीबीच भएको समझदारीले निजी क्षेत्र, विशेषगरी लुम्बिनी प्रदेशका निजी क्षेत्रलाई उत्साही र आशावादी बनाएको बताँउनु भयो ।अध्यक्ष श्रेष्ठका अनुसार विगतदेखि नै एयर रुटको विषय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको मुख्य अवरोधका रूपमा आइरहेको सन्दर्भमा यो समझदारीले सकारात्मक सन्देश दिएको छ । यद्यपि, प्राविधिक परामर्शपछि मात्रै एयर रुट दिने भनिएको विषयलाई लिएर केही संशय कायमै रहेको उहाँले उल्लेख गर्नु भयो ।‘त्यो त्यसमा पनि केही चाहिँ कुराहरु लुकेको भए हामी फेरि अन्योलमा हुन्छौँ,’ उहाँले भन्नु भयो । रुटको समस्याभन्दा पनि नेपाल सरकार वा केन्द्रले भैरहवा विमानस्थल सञ्चालन गर्न पर्याप्त चासो नदिएको निजी क्षेत्रको गुनासो रहेको अध्यक्ष श्रेष्ठको भनाई छ ।
सरकारको अर्बौँ लगानीमा विमानस्थल बने पनि त्यसलाई सञ्चालन गर्न आवश्यक अन्य सम्बन्धित कार्यहरू आजको मितिसम्म पूरा नगरिएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नु भयो । ‘हामी त्यस तर्फ नेपाल सरकारलाई चाहिँ झकझकाइरहेका छौँ । निजी क्षेत्रलाई जिम्मा दिने हो भने निजी क्षेत्र हामी गर्न तयार छौँ,’ उहाँले भन्नु भयो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको करिब चार वर्ष हुन लाग्दा पनि विमानस्थल पूर्ण रूपमा सञ्चालनमा नआउँदा निजी क्षेत्रको अर्बौँ लगानी जोखिम र धराशायीमा परेको श्रेष्ठको गुनासो छ ।यसलाई गम्भीरतापूर्वक लिएर तत्काल गर्नुपर्ने नीतिगत र प्राविधिक कामहरु पूरा गर्न तथा निजी क्षेत्रले गर्नुपर्ने काम स्पष्ट पारिदिन उहाँले सरकारसँग आग्रह गर्नु भयो ।‘हामी उत्साहित त छौँ, तर विगतमा पटकपटक आश्वासन आए पनि विमानस्थल चलेन। त्यसैले सहमति कार्यान्वयन हुनेमा उत्साहसँगै संशय पनि छ,’ श्रेष्ठले भन्नु भयो ।
बिमानस्थल सन्चालन नियमित भए र लुम्बिनी आउने विदेशी पर्यटकलाई सहज हवाई पहुँच उपलब्ध गराउन सके बुद्ध जन्मस्थलको पर्यटन प्रवद्र्धनमा समेत नयाँ अवसर सिर्जना हुन सक्छ । भारत, तेस्रो मुलुक तथा विभिन्न बौद्ध धर्मावलम्बी राष्ट्रबाट आउने पर्यटकलाई भैरहवा हुँदै लुम्बिनी प्रवेश सहज बनाउन विमानस्थल महत्वपूर्ण माध्यम बन्न सक्छ ।नेपाल सरकार र भारत सरकारबिच भएको पछिल्लो समझदारी तथा लखनऊ–भैरहवा–काठमाडौँ र काठमाडौँ–भैरहवा–लखनऊ हवाई रुट सञ्चालनमा आउने विषयको लुम्बिनी होटल संघले स्वागत गरेको छ । संघका अध्यक्ष लिलामणि शर्माले नयाँ हवाई रुटलाई स्वागतयोग्य र सराहनीय कदमको रुपमा टिप्पणी गर्नु भयो ।अध्यक्ष शर्माका अनुसार भारतको ठुलो सहर लखनऊसँग जोडिएर विश्वको तेस्रो मुलुकसम्म पुग्न सकिने अवस्था सिर्जना हुनु सकारात्मक विषय हो । उहाँले दिल्ली र वाराणसीको बिचमा लखनऊ पर्ने भएकाले बौद्धमार्गी पर्यटकहरुका लागि यो रुट विशेष उपयोगी हुने बताँउनु भयो ।
‘हामीकहाँ आउने जति पनि बौद्धमार्गीहरू हुनुहुन्छ, उहाँहरूका लागि लखनऊ, श्रावस्ती र लुम्बिनी अब एकदम नजिकको अवस्थामा पुग्छन्,’ अध्यक्ष शर्माले भन्नु भयो, ‘यसले लुम्बिनीको पर्यटनलाई विशेष प्रवद्र्धन गर्छ।’लखनऊदेखि भैरहवाको रुट छिट्टै खुल्ने अवस्थाप्रति आफूहरु खुसी र उत्साही रहेको उहाँको भनाइ छ । नयाँ रुटले भैरहवा र लुम्बिनीलाई अन्तर्राष्ट्रिय स्तरमा जोड्न सघाउने उल्लेख गर्दै उहाँले यसले लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीहरुमा हर्ष र उत्साह थपेको बताँउनु भयो ।निजी क्षेत्रका अगुवाहरुले हवाई रुटसम्बन्धी सहमतिलाई सकारात्मक उपलब्धि माने पनि यसको सार्थकता कार्यान्वयनमा निर्भर रहने बताँउनु भएको छ।प्राविधिक अवरोध हटाउने, आवश्यक पूर्वाधार तथा नीतिगत व्यवस्था मिलाउने र नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्ने काममा सरकारले तत्काल पहल गर्नुपर्ने उनीहरूको










