काठमाडौं,१६ असोज । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले चालु अधिवेशनमा प्रतिपक्षी दलका सांसदहरूले उठाएका प्रश्न र मागको सरकारले पर्याप्त जवाफ दिन नसकेको बताउनु भएको छ ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले अधिवेशन अन्त्य हुन लागेको अवस्थामा आफू जनतासामु उत्साहका साथ फर्किन नसकेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘आज म अधिवेशन सकिँदै गर्दा यो सम्मानित सदनबाट जनताहरूलाई म रित्तै फर्किँदैछु भनेर भन्नुपर्ने बाध्यता छ ।’
भोजपुरका जनतासहित विपक्षी दलका सांसदहरूले उठाएका प्रश्नको सरकार प्रमुखबाट अपेक्षित जवाफ नआएको उहाँको भनाइ थियो । अन्य मन्त्रालयका मन्त्रीहरूले भने आफूहरूले उठाएका विषयमा जवाफ दिएको भन्दै उहाँले उनीहरूप्रति आभार व्यक्त गर्नुभयो ।
राईले प्रतिपक्षले सरकारलाई सजग गराउँदै जनताका आवाज संसदमा उठाउने भूमिका निर्वाह गर्ने बताउनु भयो । बहुदलीय अभ्यासमा सत्तापक्ष र प्रतिपक्ष दुवैले आ–आफ्ना विषय राख्दै अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले वर्तमान सत्तापक्षलाई विगतका राजनीतिक घटनाक्रमबाट पाठ सिकेर अघि बढ्न सुझावसमेत दिनुभयो । नेपालको राजनीतिक इतिहासमा २०१५ सालमा नेपाली कांग्रेस र २०६४ सालमा माओवादीले बहुमत प्राप्त गरेको उल्लेख गर्दै उहाँले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी पनि शक्तिशाली अवस्थामा रहेको बताउनु भयो ।
राईले सत्तापक्षलाई पाँच वर्षसम्म सरकार टिकाउन सके जनताले अपेक्षा गरेअनुसार काम गर्ने अवसर प्राप्त हुने शुभकामना दिनुभयो ।
उहाँले भन्नु भयो, ‘तपाईंहरू आफैँले आफ्नो सरकार नढाल्नुहोला । हेलचेक्र्याइँ गर्नुहुन्न, सदनको अभ्यास भनेको प्रतिपक्ष र सत्तापक्षले यहाँ आफ्नो कुरा राख्ने र सत्तापक्षलाई सजग गराउँदै अगाडि बढाउने हो ।’
पछिल्लो राजनीतिक आन्दोलनका क्रममा पुराना दलका नेताहरूको गतिविधि र भ्रष्टाचारका आरोपसँग जोडिएका घटनामा घरहरू जलाइएको उल्लेख गर्दै राईले वर्तमान सत्तापक्षले पनि जनताको असन्तुष्टिलाई बेवास्ता गर्न नहुने बताउनु भयो ।
उहाँले आगामी अधिवेशनमा प्रतिपक्षले आफ्ना माग राख्नुपर्ने अवस्था नै नआउने गरी सरकार र सत्तापक्षले काम गर्नुपर्ने बताउनु भयो। साथै, प्रतिपक्षका मागलाई अपमान गर्ने अवस्था आगामी संसद्मा दोहोरिन नहुने अपेक्षा उहाँले व्यक्त गर्नु भयो ।









