काठमाडौं , असोज १६। जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गर्दै ३ हजार ५ सय ६ जना प्रहरी परिचालन गर्ने जनाएको छ।शुक्रबार पत्रकार सम्मेलन गर्दै परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक दानबहादुर थापाले चाडपर्वका समयमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सुरक्षा योजना तयार गरिएको बताउनुभयो। उहाँका अनुसार परिचालन हुने प्रहरीमध्ये ७० जना सादा पोसाकमा खटिनेछन् भने बाँकी प्रहरी पोसाकमा परिचालन हुनेछन्। प्रहरीलाई काठमाडौंका विभिन्न ९८ वटा सेक्टरमा विभाजन गरी जिम्मेवारी तोकिएको छ।सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन १६६ वटा मोबाइल र भ्यान परिचालन गरिने प्रहरीले जनाएको छ।
त्यस्तै, काठमाडौंका विभिन्न स्थानमा जडान गरिएका १ हजार २४२ वटा सीसीटीभीमार्फत समेत निगरानी बढाइनेछ।प्रहरीले चाडपर्वका बेला हत्या, बलात्कार, मानव बेचबिखन, अपहरण, पकेटमारी, चोरी, जुवा, लुटपाट, ठगी तथा पेय पदार्थमा नशालु पदार्थ मिसाउनेजस्ता गतिविधिलाई प्रमुख सुरक्षा चुनौतीका रूपमा पहिचान गरेको छ।धार्मिक तथा सांस्कृतिक स्थल, बजार, बसपार्क, भिडभाड हुने क्षेत्र, बैंक तथा वित्तीय संस्था, सपिङ मल र गरगहना कारोबार हुने स्थानमा समेत आवश्यकताअनुसार प्रहरी परिचालन गरिने प्रहरीले जनाएको छ।









