झापा ,१६ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले झापाका जनता जंगली हात्तीको त्रास र सुकुमवासी समस्याबाट पीडित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उनले बाली भित्र्याउने समयमा हात्तीले निम्त्याएको क्षति नियन्त्रण गर्न र जग्गा निस्सा पाइसकेका नागरिकलाई लालपुर्जा प्रदान गर्न तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गर्नुभयो ।
सांसद राना मगरले दशैं नजिकिँदै गर्दा झापाका किसान बाली जोगाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा रहेको बताउनु भयो ।
हात्ती आतंकका अतिरिक्त जग्गा सम्बन्धी समस्या पनि उत्तिकै जटिल रहेको उहाँले उल्लेख गर्नुभयो ।
जग्गाको निस्सा पाइसकेका सुकुम्वासीहरूलाई पुनस् नापीको नाममा दुस्ख दिने काम भइरहेको भन्दै उहाँले यस्तो कार्यप्रति असन्तुष्टि जनाउनु भयो ।
‘किसानहरू अहिले बाली जोगाउन रातभर निद्रा त्यागेर हात्ती रुङ्न बाध्य छन्, तर सरकारबाट ठोस राहतको प्रत्याभूति हुन सकेको छैन । निस्सा पाइसकेका सुकुम्वासीले अब छिटो लालपुर्जा पाउनुपर्छ, प्रक्रियामाथि प्रक्रिया थपेर उनीहरूलाई थप कष्ट दिनु हुँदैन,’ उहाँले भन्नु भयो ।
केही स्थानीय तहबाट ‘माथिबाट आदेश आएको’ भन्दै भ्रम फैलाउने काम भएको जनगुनासो सुनिएको बताउँदै उहाँले यस विषयमा सम्बन्धित मन्त्रालयले स्पष्ट धारणा राख्नुपर्नेमा जोड दिनुभयो ।
हात्तीबाट पीडित किसानलाई राहत र लालपुर्जाको पर्खाइमा रहेका नागरिकलाई तत्काल स्वामित्वको प्रमाणपत्र उपलब्ध गराउन सरकारले अविलम्ब कार्ययोजना सार्वजनिक गर्नुपर्ने माग उहाँले गर्नुभयो ।









