विराटनगर ,१६ असोज। दसैं, तिहार र छठ पर्व नजिकिएर घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै कोशी प्रदेशमा प्रहरीले सार्वजनिक यातायातमा हुने बढी भाडा असुली, टिकटमा ठगी, यात्रुमाथिको दुर्व्यवहार तथा अन्य अव्यवस्था नियन्त्रण गर्न निगरानी बढाएको छ ।
यात्रु समस्यामा परेपछि प्रहरी कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले प्रदेशका १४ वटै जिल्लाका ४८ स्थानमा शुक्रबारदेखि यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो । मोरङमा मात्रै १० स्थानमा सहायता कक्ष स्थापना गरिएको छ । सहायता कक्षमा प्रहरीसँगै यातायात क्षेत्रका प्रतिनिधिलाई समेत परिचालन गरिएको छ ।
विराटनगर बसपार्कमा सहायता कक्षको उद्घाटन गर्दै कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले चाडपर्वको यात्रालाई सुरक्षित र मर्यादित बनाउन सडकदेखि बसपार्कसम्म प्रहरीको उपस्थिति प्रभावकारी बनाइने बताए । यात्राका क्रममा बढी भाडा लिने, टिकटमा ठगी गर्ने, यात्रुमाथि दुव्र्यवहार गर्ने वा अन्य समस्या भए सहायता कक्षमै गुनासो गर्न उनले आग्रह गरे ।
‘यात्राका क्रममा समस्या परेपछि प्रहरी कार्यालय खोज्दै हिँड्नुपर्ने अवस्था आउने छैन । सहायता कक्षबाटै यात्रुका गुनासा सुन्ने र तत्काल समाधान गर्ने व्यवस्था मिलाइएको छ,’ उनले भने ।
चाडपर्वको सुरक्षा सार्वजनिक यातायातमा हुने ठगी र अव्यवस्थामा मात्र सीमित नरहेको खनालले बताए । जुवातास, मादक पदार्थ सेवन तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रणमा समेत प्रहरी परिचालन गरिएको उनले जानकारी दिए । बाढीपहिरोका कारण सडक यात्रा प्रभावित भइरहेका बेला यात्रुको सुरक्षा, ट्राफिक नियमको पालना र सहज आवागमनका लागि यातायात व्यवसायी, मजदुर र प्रहरीबीच समन्वय आवश्यक रहेको उनले बताए ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले चाडपर्वमा बढी भाडा असुली, यात्रुलाई जथाभावी तानातान गर्ने, सामानको सुरक्षा नगर्ने, आरक्षण सिट कार्यान्वयन नगर्ने तथा क्षमताभन्दा बढी यात्रु राख्ने गतिविधिमाथि निगरानी बढाइएको बताए । एउटै सिटमा एकभन्दा बढी टिकट काट्ने, यात्रुलाई गन्तव्यसम्म नपु¥याउने, बीच बाटोमै अलपत्र पार्ने तथा अमर्यादित व्यवहार गर्नेमाथि पनि कारबाही गरिने उनले बताए ।
मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले यात्रुको चाप व्यवस्थापनसँगै सहज, सुरक्षित र भरपर्दो यात्रा सुनिश्चित गर्न सहायता कक्ष प्रभावकारी बनाइने बताए । यात्राका क्रममा समस्या आए सहायता कक्ष, ट्राफिक प्रहरी वा नजिकको सुरक्षा निकायमा जानकारी गराउन उनले आग्रह गरे ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी दीपक गिरीका अनुसार कोशीका १४ जिल्लाका ४८ स्थानमा सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । भारतसँग जोडिएका पशुपतिनगर, काँकडभिट्टा, विराटनगरको रानी र सुनसरीको कोशी कटानमा समेत छुट्टै सहायता कक्ष राखिएको उनले बताए । ती कक्षले भारतबाट आउने यात्रुलाई समेत सहजीकरण गर्ने गिरीले बताए ।
यातायात व्यवसायीहरूले पनि चाडपर्वमा यात्रुमैत्री सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् । यात्रुको सुरक्षा र सुविधालाई प्रहरी, व्यवसायी, मजदुर तथा यात्रु सबैको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने उनीहरूको भनाइ छ ।









