पथरी, १६ असोज / मोरङको पथरी शनिश्चरेमा रहेर खोजमूलक पुस्तकमार्फत राष्ट्रि चिनारी बनाउन सफल दीपेन्द्रराज तिम्सिनाको स्मृतिमा पथरी जेसीजले शनिबार साहित्यिक साँझ कार्यक्रमको आयोजना गरेको छ ।
जेसीज सप्ताह अन्तर्ग सन् २०१५ का पथरी जेसीज अध्यक्ष समेत रहेका तिम्सिनाको जन्मदिनको अवसर पारेर असोज १७ गते पथरी बजारको अन्नपूर्ण लाइनस्थित प्रोस्किल एकेडेमीमा ‘दीपेन्द्र स्मृति साहित्यिक साँझ’ कार्यक्रम हुने भएको हो । कार्यक्रम १५ सर्जकका १५ सृजना प्रस्तुत हुने पथरी जेसीज अध्यक्ष सुमन कुरुङवाङले जनाउनु भयो ।
ख्यातिप्राप्त साहित्यकारहरुको विशेष प्रस्तुतिमा दमक झापाका धनकुटे कान्छा, इलाम चुलाचुलीका विवश बलिभद्र कोइराला, सुन्दर कुरुप, शिवसताक्षी झापाका कृष्ण काश्यप, दमकका राजकुमार सुब्बा ‘अनिश्चित’, उर्लाबारीकी मुना आत्रेय, भुटान हाल बेलडाँगीका दिल भुटानी र धनकुटाका उत्तम तुम्सा प्रस्तुति हुनुहुनेछ ।
स्थानीय ख्यातिप्राप्त अग्रज सर्जकहरु रोहित पराई, भूपेन्द्रराज तिम्सिना, सुमन राई, विद्रोही कान्छा, गणेश बाछाना, लोकसागर साम्बा र लक्ष्मीप्रसाद फुयालको समेत प्रस्तुति रहने कार्यक्रम संयोजक रीता कुलुङले उल्लेख गर्नुभयो ।
पत्रकारिताहुँदै खोजमूलक पुस्तक लेखनमा सक्रिय तिम्सिनाले हालसम्म १४ वटा कृति प्रकाशित गरिसक्नु भएको छ । उहाँको पुस्तककै सिलसिलामा काठमाडौं गएको बेला उच्च रक्तचापको समस्या बढेर २०८२ फागुन १९ गते ४५ वर्षको उमेरमा निधन भएको थियो ।
दीपेन्द्र र उहाँको योगदान :
नेपाली साहित्य क्षेत्रमा एउटा छुट्टै परिचय बनाउन सफल लेखक दीपेन्द्रराज तिम्सिनाको जन्म वि.सं. २०३७ असोज १७ गतेका दिन तल्कालीन उदयपुर जिल्ला रुपाटार गाउँ पञ्चायत वडा नं. २ बिजुवा (हालको ताप्लि गाउँपालिका)मा बुबा जयराज तिम्सिना र आमा सुलक्षणा तिम्सिनाको छैटौं सन्तानका रुपमा भएको हो । जन्मथलो उदयपुर, बिजुवा गाउँमै आफ्नो जीवनका अढाई वर्ष पार गरेका तिम्सिना २०३९ सालमा परिवारसँग मोरङको हालको पथरी शनिश्चरे १० जिरिखिम्तिमा बसाइ सर्नुभएको थियो । बाल्यकालदेखि नै लेखन क्षेत्रमा झुकाव राख्दै आउनु भएका तिम्सिनाको लेखन यात्राले पछिल्ला १० वर्षमा उत्कर्ष पाएको देखिन्छ । पत्रकारिता र पुस्तक लेखनका क्षेत्रमा कलम चलाउँदै साहित्य सर्जक, सांस्कृतिक चिन्तक र सचेत देशप्रेमी व्यक्तित्वका रुपमा आफूलाई उचो बनाउन सक्नु भयो ।
पत्रकारिता तथा लेखन क्षेत्रमा लाग्न आफ्ना दाजु भूपेन्द्रराज तिम्सिना र विद्यालयको साहित्यिक वातावरणबाट प्रेरणा पाएका दीपेन्द्रले धरानबाट प्रकाशित हुने ब्लाष्ट टाइम्स दैनिकमा ०६० सालदेखि पथरी क्षेत्रको संवाददाता भई पत्रकारिता सुरु गर्नुभएको थियो । पछिल्लो समय पुस्तकाकार कृति लेखन र प्रकाशनमा सक्रिय भएर हालसम्म उहाँका ’टेलिफोन डायरी’ (२०६८), ’ मोरङको सामुदायिक वन एक चिनारी’ (२०६९), ’मोरङको क्षेत्र नं. २ एक चिनारी’ (२०७०), ’पथरी शनिश्चरे नगरपालिका एक चिनारी’ (२०७७), ’जेसीज दस्तावेज : विगतदेखि वर्तमानसम्म’ (२०७७), ’धिमाल जातिको इतिहास : विगतदेखि वर्तमानसम्म’ (२०७८), ’इतिहासमा पथरी शनिश्चरे’ (२०७८), ’मोरङका जनप्रतिनिधि सँगालो’ (२०७९), ’माईखोलादेखि पुनर्वाससम्म’ (२०८०), ’तिमिल्सिना इतिहास : विगतदेखि वर्तमानसम्म’ (२०८०) र ’गुमनाम एक इतिहास : बिसे नगर्ची’ (२०८१) रहेका छन् । यी पुस्तकाकार कृतिमध्ये ’जेसीज दस्तावेज : विगतदेखि वर्तमानसम्म’ को २०७८ सालमा र ’गुमनाम एक इतिहास : बिसे नगर्ची’ २०८१ सालमै दोस्रो संस्करणमा समेत प्रकाशन भएका कृति हुन् । सानै उमेरदेखि लेखनमा रुचि देखाउने तिम्सिनाले केही फुटकर कविता र गजल पनि लेख्नु भएको थियो तर ती रचनाहरू पुस्तकाकार कृतिका रूपमा प्रकाशित भएको भने देखिँदैन । वि.सं.२०६७ सालदेखि औपचारिक रूपमा लेखन क्षेत्रमा देखिएका तिम्सिनाको जीवनी, व्यक्तित्व र कृतित्वका सन्दर्भमा सोधपत्र समेत लेखिदैछ । ’गुमनाम एक इतिहास : बिसे नगर्ची’ त गोरखाका केही विद्यालयहरुले स्थानीय पाठ्क्रममा समावेश गराएका छन् । पछिल्लो समय योगी नरहरिनाथका विषयमा पुस्तक तयारी गर्दै गर्दा उहाँको यात्राले अचानक विश्राम लिन पुग्यो ।









