काठमाडौँ,१८ भदौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज आइतबार देखि खुलामञ्चमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटनसत्र दिउँसो २ बजे सुरु हुने प्रवक्ता देवराज चालिसेले जानकारी दिनु भयो । २००३ सालमा स्थापित कांग्रेसका यसअघि १४ महाधिवशेन सम्पन्न भइसकेका छन् । त्यसबाट अहिलेसम्म नेतृत्वमा १० जना पुगेको देखिन्छ । पार्टी स्थापनाको ८० वर्षसम्म कुन महाधिवेशन कहाँ भए ? को–को नेतृत्वमा पुगे भन्नेबारे हामीले खोज्ने प्रयास गरेका छौँ ।
स्थापनाकालमा कांग्रेसको नाम नेपाली राष्ट्रिय कांग्रेस थियो । पार्टीको त्यही नामबाट २००३ माघ १२ र १३ गते भारतको कोलकातास्थित भवानीपुरमा भएको सम्मेलनलाई कांग्रेसको पहिलो महाधिवेशन भन्ने गरिएको छ । सम्मेलनले टंकप्रसाद आचार्यलाई सर्वसम्मत सभापति बनाएको कांग्रेसका दस्तावेजहरूमा पाइन्छ । आचार्य सभापति हुँदा त्यो कार्यसमितिको कार्यवाहक सभापति विश्वेश्वरप्रसाद कोइरालालाई बनाइएको थियो ।
पहिलो महाधिवेशन भएको दुई महिनामै कांग्रेसको दोस्रो महाधिवेशन भयो । २००३ फागुन २१ मा विराटनगरस्थित जुद्ध जुट मिलमा गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीको नेतृत्वमा हडताल भयो । त्यो हडतालको नेतृत्व गर्न पुगेका कार्यवाहक सभापति बीपी कोइराला विराटनगर पुगेको बेलामा फागुन २६ गते पक्राउ पर्नु भयो। बीपी पक्राउ परेपछि २००३ चैत २७ र २८ जोगबनीमा भएको पार्टी प्रतिनिधिहरूको सम्मेलनले कार्यकारी सभापतिमा मातृकाप्रसाद कोइरालालाई चयन गर्यो ।
त्यसको २ वर्षपछि २००५ फागुन १८–२० गते भारतकै दरभंगामा नेपाली राष्ट्रिय कांग्रेसको तेस्रो अधिवेशन भयो र मातृकाप्रसाद कोइराला सभापति बन्नु भयो ।भारतको कोलकाताको टाइगर सिनेमा हलमा २००६ चैत २७ र २८ गते चौथो महाधिवेशन भयो । त्यो महाधिवेशनले पार्टीको नाम फेरेर ‘नेपाली कांग्रेस’ राख्यो । त्यो महाधिवेशनबाट पनि सभापति मातृकाप्रसाद कोइराला नै बन्नु भयो।नेपाली कांग्रेस बनेपछि पाँचौँ महाधिवेशन जनकपुरमा भयो । २००९ जेठ १० देखि १२ सम्म भएको महाधिवेशनले बीपी कोइरालालाई सभापति बनाएको विभिन्न समयमा प्रकाशित दस्तावेजहरूमा उल्लेख छ ।
वीरगञ्जमा भएको छैटौँ महाधिवेशनबाट कांग्रेस सभापतिमा प्रतिस्पर्धा भएको देखिन्छ । कांग्रेसका जानकार पुरुषोत्तम बस्नेतले लेखेको कांग्रेसको इतिहास सम्बन्धी पुस्तकमा उल्लेख भए अनुसार २०१२ मंसिर १२ देखि १४ गतेसम्म भएको छैटौँ महाधिवेशनबाट गणेशमान सिंहलाई पराजित गर्दै सुवर्णशमशेर राणा सभापतिमा निर्वाचित हुनु भएको थियो ।२०१४ जेठ १० र ११ गते विराटनगरमा कांग्रेसको विशेष महाधिवेशन भयो । विशेष महाधिवेशनबाट बीपी कोइराला सर्वसम्मतिबाट पुनः सभापति बन्नु भयो ।
काठमाडौँको महाराजगन्जस्थित लक्ष्मी निवासमा २०१७ वैशाख २५ देखि ३१ गतेसम्म भएको सातौँ महाधिवेशनमा सभापतिका लागि बीपी कोइराला र भूदेव राईबिच प्रतिस्पर्धा भयो । राईलाई हराउँदै बीपी नै सभापति बन्नु भयो । २०१७ पुस १ गते राजा महेन्द्रले ‘कु’ गरेर तत्कालीन प्रधानमन्त्री तथा पार्टी सभापति बीपीसहितका नेतालाई जेल हालेपछि आठ महिनामै कांग्रेसले अर्को महाधिवेशन गर्नुपर्यो ।बीपीलाई जेल हालेर पञ्चायती व्यवस्था लागु गरेकाले नेपालमा महाधिवेशन गर्न सम्भव थिएन । भारत भ्रमणमा रहनु भएको सुवर्ण शमशेरले ०१७ साल पुसमा भारतको पटनामा बोलाएको सम्मेलनले सुवर्णलाई नै कार्यवाहक सभापति बनायो ।
२०३४ सालमा पटनामा कांग्रेस कार्यकर्ताहरूको सम्मेलन आयोजना गरिएको थियो । सातौँ महाधिवेशनबाट सभापति बनेका बीपी कोइरालाले कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिनु भयो।२०४६ सालको जनमत सङ्ग्रह सफल भएपछि २०४८ सालमा कांग्रेसको आठौँ सम्मेलन भयो । २०४८ साल फागुन १ देखि ३ गते झापामा भएको आठौँ महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई सभापतिमा निर्विरोध हुनु भएको थियो ।२०५३ वैशाख २६ देखि २९ गतेसम्म काठमाडौँमा भएको कांग्रेसको नवौँ महाधिवेशनमा सभापतिका लागि ३ जनाबिच प्रतिस्पर्धा भयो । सभापति पदमा चिरञ्जीवी वाग्ले, रामहरि जोशी र गिरिजाप्रसाद कोइरालाले उम्मेदवारी दिनु भयो । त्यसमा जोशी र वाग्लेलाई पराजित गर्दै कोइराला सभापतिमा निर्वाचित हुनु भयो। त्यो महाधिवेशनमा नेता गणेशमान सिंह सहभागी हुनु भएन ।
२०५७ माघ ७–९मा पोखरामा भएको कांग्रेसको १०औँ महाधिवेशनमा पनि सभापति पदमा ३ जनाबिच प्रतिस्पर्धा भयो । गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र रामहरि जोशीले सभापति पदमा उम्मेदवारी दिनु भएको थियो । देउवा र जोशीलाई पराजित गर्दै कोइराला सभापतिमा निर्वाचित हुनु भयो ।२०५९ सालमा कांग्रेस विभाजित भएर नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिक बन्यो । नेपाली कांग्रेसबाट विद्रोह गरी शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्नु भएको थियो ।कांग्रेसको ११औँ महाधिवेशन विभाजित दुई कांग्रेसले छुट्टाछुट्टै गरे । २०६२ भदौ १४ देखि १७ गतेसम्म कांग्रेसको संस्थापनले सानेपामा महाधिवेशन गर्यो । त्यहाँ गिरिजाप्रसाद कोइराला र नरहरि आचार्यबिच सभापतिमा प्रतिस्पर्धा भयो । कोइराला सभापतिमा निर्वाचित हुनु भयो ।
नेपाली कांग्रेस प्रजातान्त्रिकले २०६१ माघ १० देखि १३ गतेसम्म ललितपुरको शंखमुलमा महाधिवेशन गर्यो र सभापतिमा शेरबहादुर देउवा नै निरन्तर हुनु भयो।२०६४ असोज ८ गते संयुक्त महासमिति बैठक बसेर दुवै कांग्रेसबिच एकीकरण भयो । एकीकरण भएपछि २०६७ असोज १ देखि ७ गतेसम्म कांग्रेसको १२औँ महाधिवेशन काठमाडौँमा आयोजना गरियो । त्यो महाधिवेशनमा सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङबिच सभापतिमा प्रतिस्पर्धा भयो । देउवा र तामाङलाई पछि पार्दै सुशील कोइराला सभापतिमा निर्वाचित हुनु भयो ।
१३औँ महाधिवेशन अन्तर्गतका तल्ला तहका अधिवेशन भइरहेका बेलामा सभापति कोइरालाको निधन भयो । कोइरालाको निधनपछि विधानतः कार्यवाहक सभापतिको जिम्मेवारी रामचन्द्र पौडेलले सम्हालनु भयो । कार्यवाहक सभापतिका हैसियतमा २०७२ फागुन २०–२३ गतेससम्म पौडेलको नेतृत्वमा भएको १३औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवा, पौडेल र कृष्णप्रसाद सिटौलाबिच प्रतिस्पर्धा भयो । पहिलो चरणमा उहाँहरू कसैले पनि ५० प्रतिशतभन्दा बढी मत कटाउन नसकेपछि दोस्रो चरणमा धेरै मत ल्याउने २ जनाबिच प्रतिस्पर्धा भयो । पौडेल र देउवाबिच भएको प्रतिस्पर्धामा पौडेललाई पछि पार्दै देउवा सभापतिमा निर्वाचित हुनु भयो।
२०७८ मंसिर २४ देखि २७ गतेसम्म कांग्रेसको १४औँ महाधिवेशन काठमाडौँमा भयो । सभापतिमा शेरबहादुर देउवा, डा.शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा उत्रिनु भयो । पहिलो चरणमा आवश्यक ५० प्रतिशत मत कसैको पनि आएन । त्यसपछि धेरै मत ल्याउने २ जना शेरबहादुर र डा.शेखरबिचमा दोस्रो चरणमा भएको प्रतिस्पर्धामा देउवा सभापतिमा निर्वाचित हुनु भयो।कांग्रेसमा केन्द्रीय समितिको असहमति बिच तत्कालीन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा गत पुस २७ देखि ३० गतेसम्म विशेष महाधिवेशन भयो । महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्यो ।
त्यसलाई निवर्तमान सभापति देउवा सहितका नेताहरूले स्वीकार गरेका छैनन् । विशेष महाधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतको संयुक्त इजलासले सदर गरेको थियो । तर, निवर्तमान सभापति देउवा र उपसभापति पूर्णबहादुर खड्काले फैसला पुनरवलोकनका लागि दिएको निवेदनमा सर्वोच्चले निस्सा प्रदान गरेको छ । त्यो मुद्दा विचाराधीन छ ।आजदेखि सुरु हुने महाधिवेशनमा १४औँ महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गरेका कोही पनि सहभागी नहुने निश्चित भएको छ ।
स्रोत रातो पाटी









