बिर्तामोड , २१ असोज । झापाको बिर्तामोड बजारस्थित दुई वटा फर्निचर उद्योगमा लागेको भीषण आगो करिब दुई घण्टाको प्रयासपछि पूर्ण रूपमा नियन्त्रणमा आएको छ। बिर्तामोड नगरपालिका–४, भद्रपुर रोडमा हर्कराज सुब्बाले सञ्चालन गरेको देवी उडन फर्निचर तथा कृष्णकुमारी राईको घरमा सञ्चालित दिव्याश्री अग्रवालको जय ट्रेड फर्निचर फ्याक्ट्री एण्ड सोरुममा आज बुधबार आगलागी भएको हो। दिउँसो १ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सन्तोष पाठकले जानकारी दिनुभयो।
नेपाली सेनाको अरिदमन गण चारआली, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी तथा बिर्तामोड, मेचीनगर, शिवसताक्षी र कमल गाउँपालिकाका दमकलको सहयोगमा आगो निभाइएको हो। आगो नियन्त्रणका लागि एसियन हाइवेको पानी ट्याङ्करसमेत परिचालन गरिएको थियो। बजारको मुख्य भागमा लागेको आगोका कारण नजिकै रहेका अन्य दुई घरमा सामान्य क्षति पुगेको छ। आगलागीको यकिन कारण नखुले पनि प्रारम्भिक अनुसन्धान अनुसार विद्युत् सर्ट भएर आगो लागेको अनुमान गरिएको छ।
घटनामा कुनै मानवीय क्षति नभए पनि सामान निकाल्ने क्रममा एक जना घाइते भएका छन्। घरको पहिलो तलाबाट हामफाल्दा अर्जुनधारा–३ का ३९ वर्षीय तिलबहादुर रम्तेलको दाहिने खुट्टामा चोट लागेको र उहाँको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आगलागीबाट भएको कुल क्षतिको विवरण संकलन भइरहेको छ।









