मोरङ ,२२ असोज । मोरङको लेटाङ नगरपालिका–७ वाराङ्गी कोलाघारीबाट आफ्नै घरमा अवैध रूपमा भरुवा बन्दुक बनाएर बिक्री(वितरण गर्ने ४५ वर्षीय पूर्ण लावती लिम्बू (पूर्णबहादुर लिम्बू) पक्राउ परेका छन्।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले बिहीबार बिहान उनको घरमा खानतलासी गरी उनलाई नियन्त्रणमा लिएको हो।
घरमा खानतलासी गर्नेक्रममा उनको घरबाट तयारी अवस्थाको भरुवा बन्दुक – १ थान ,दबासवाला बन्दुक – १ थान ,हातहतियार निर्माण गर्ने आरन ,बन्दुकमा प्रयोग हुने विभिन्न पार्टपुर्जाहरू बरामद गरिएको थियो ।
मोरङ प्रहरीका अनुसार लिम्बूले घरमै आरन थापेर अवैध रूपमा हतियार निर्माण गरी आवश्यक पर्ने व्यक्तिहरूलाई बिक्री गर्दै आएका थिए। प्रहरीले उनलाई हिरासतमा राखेर हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाएको छ।









