विराटनगर ,९ कार्तीक। विराटनगरस्थित ‘पिजफायर रेस्टुरेन्ट’का सञ्चालक ५१ वर्षीय मनोज खत्रीको मृत्यु प्रकरणमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ। मृतकका भाइले दिएको आत्महत्या दुरुत्साहनसम्बन्धी किटानी जाहेरीका आधारमा झापा गौरादह–६ की २७ वर्षीया खिलिना (इन्दु) दाहाल पक्राउ परेकी हुन्। दाहाल विगत चार–पाँच वर्षदेखि उक्त रेस्टुरेन्टको आर्थिक हिसाबकिताब हेर्दै आएकी थिइन्। जिल्ला अदालत मोरङबाट पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो।
प्रहरीको प्रारम्भिक बयानमा दाहालले खत्रीसँग व्यक्तिगत सम्बन्ध रहेको स्वीकार गरेकी छन्। पछिल्लो समय उनीहरूबीच सम्बन्ध र आर्थिक विषयलाई लिएर सामान्य खटपट हुने गरेको पाइए पनि दाहालले आर्थिक अनियमितता, मानसिक तनाव वा ब्ल्याकमेल नगरेको दाबी गरेकी छन्। खत्रीले पछिल्ला दिनहरूमा अत्यधिक मदिरा सेवन गर्ने गरेको र उनको मृत्युमा आफ्नो कुनै भूमिका नरहेको जिकिर दाहालको छ।विराटनगर–३ का खत्री गत शुक्रबार दिउँसो स्कुटर लिएर घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। शनिबार अपराह्न मोरङको केराबारी–९ स्थित धारापानी जंगलको रुखमा उनी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि शव परिवारलाई बुझाइएको छ भने उनले चढेको स्कुटर अझै फेला परेको छैन।
खत्रीको मृत्युमा दाहालको संलग्नता पुष्टि हुन बाँकी रहेको र प्राविधिक परीक्षण तथा पोस्टमार्टम रिपोर्ट आएपछि मात्र घटनाको यथार्थ खुल्ने प्रहरीले जनाएको छ।









