झापा ,१० कार्तीक। झापामा गत असोज महिनामा घटेका विभिन्न २२ वटा विपद्का घटनाबाट १० करोड रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ। आगलागी, जङ्गली जनावरको आक्रमण तथा चट्याङका कारण ठूलो आर्थिक नोक्सानीसँगै मानवीय जोखिम समेत बढेको छ। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) रञ्जन अवाका अनुसार असोज महिनामा भएका विपदमध्ये सबैभन्दा बढी क्षति आगलागीबाट भएको हो। जिल्लाका विभिन्न स्थानमा भएका १२ वटा आगलागीका घटनामा परी एक जना घाइते भएका छन् भने १० करोड ६६ लाख ८२ हजार ९७५ रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ।
यसैगरी, जङ्गली जनावरको आक्रमणका नौ वटा घटना दर्ता भएका छन्। ती घटनाबाट तीन लाख ८९ हजार रुपैयाँ बराबरको नोक्सानी भएको छ भने जोखिममा परेका चार जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ। त्यस्तै, चट्याङको एउटा घटनाबाट करिब एक लाख रुपैयाँ बराबरको क्षति भएको छ। चाडपर्व तथा सुक्खा मौसम सुरु भएसँगै आगलागीको जोखिम बढ्ने भएकाले विद्युतीय उपकरण तथा आगोको प्रयोग गर्दा सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। साथै वन तथा मध्यवर्ती क्षेत्र आसपासका बासिन्दालाई जङ्गली जनावरको सम्भावित आक्रमणबाट जोगिन सतर्क रहन समेत अनुरोध गरिएको छ।










