काठमाडौं ,१० कार्तीक। पछिल्लो समय साउदी अरेबियामा सुरक्षा अवस्था संवेदनशील बन्दै गएको भन्दै रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपाली नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। दूतावासले एक सूचना जारी गर्दै सुरक्षा जोखिमलाई ध्यानमा राखी अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र स्थानीय सुरक्षा निकायले जारी गरेका निर्देशनहरूको पूर्ण पालना गर्न नेपाली समुदायलाई अनुरोध गरेको हो।
दूतावासले जारी गरेको मुख्य निर्देशन तथा सुझावहरू?
आधिकारिक सूचनाको पालना : स्थानीय प्रशासन र सरकारी निकायले तोकेका सुरक्षा सतर्कता सम्बन्धी नियम तथा निर्देशनहरूको गम्भीरतापूर्वक पालना गर्ने।
सामाजिक सञ्जालमा सचेतताः अपुष्ट सूचना, भ्रामक भिडियो वा तस्बिरहरू सामाजिक सञ्जालमा सेयर, पोस्ट वा आदानप्रदान नगर्ने।
उडानको विवरण यकिन गर्ने : सुरक्षा अवस्थाका कारण उडान तालिका प्रभावित हुनसक्ने भएकाले हवाई यात्रा गर्नुअघि सम्बन्धित एयरलाइन्सबाट उडानको अवस्था पुष्टि गरेर मात्र विमानस्थल जाने।
कुनै समस्या वा आपत्कालीन अवस्था परेमा तत्काल रियादस्थित नेपाली राजदूतावास तथा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ। वैदेशिक रोजगारीका क्रममा साउदीमा लाखौँ नेपाली कार्यरत रहेकाले परिस्थितिलाई गम्भीर रूपमा लिन दूतावासले सचेत गराएको हो।











