इलाम , कार्तिक १०। इलाममा २२ वर्षअघि भएको ज्यान मुद्दामा दोषी ठहर भई फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–३ निवासी कमल भन्ने प्रेमकुमार श्रेष्ठ रहेका छन्। जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार श्रेष्ठलाई २०८३ असोज ४ गते दिउँसो २ बजे आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो।पक्राउ परेका श्रेष्ठलाई असोज ९ गते अदालतमा पेस गरिएकामा तोकिएको कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार २०६१ फागुन १ गते राति बलबहादुर लिम्बुको घरबाट कुखुराको भाले चोरी भएको विषयमा उत्पन्न विवादका कारण भोलिपल्ट फागुन २ गते घटना भएको थियो।
अशोक राईको विवाह भोजका क्रममा मिलेमतोमा शुक्रप्रसाद लिम्बुको टाउकोमा खुकुरी, रड तथा भाटाले प्रहार गरी गम्भीर घाइते बनाइएको थियो।गम्भीर घाइते लिम्बुलाई उपचारका लागि धरानस्थित घोपा अस्पताल लगिएकामा उपचारकै क्रममा २०६१ चैत २ गते उनको मृत्यु भएको थियो। उक्त घटनासम्बन्धी ज्यान मुद्दामा प्रेमकुमार श्रेष्ठसमेत प्रतिवादी रहेका थिए। इलाम जिल्ला अदालतले २०६६ कात्तिक १६ गते श्रेष्ठलाई पाँच वर्ष कैद सजाय हुने फैसला गरेको थियो। उक्त फैसला सर्वोच्च अदालतले २०६८ चैत २४ गते सदर गरेपछि पनि श्रेष्ठ कैद भुक्तान नगरी फरार रहेका थिए। फरार प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा श्रेष्ठलाई पक्राउ गरी अदालतमा पेस गरिएको र अदालतको आदेशअनुसार कैद भुक्तानका लागि कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए।










