काठमाडौं , कार्तिक १०। भारतीय पाश्र्वगायक शानले दुबईमा आयोजित कन्सर्टमा पप संगीतका चर्चित गायक माइकल ज्याक्सनलाई सांगीतिक श्रद्धाञ्जली दिएका छन् । उनले ज्याक्सनको लोकप्रिय गीत ‘बिली जिन’ गाउनुका साथै उनका चर्चित नृत्य शैलीसमेत प्रस्तुत गरेका छन् ।दुबईस्थित कोका–कोला एरिनामा आफ्नो ‘अल अफ मी टुर’ अन्तर्गत प्रस्तुति दिँदै शानले ज्याक्सनको चर्चित मुनवाकसहितका नृत्य प्रस्तुत गरेका हुन् । रोमान्टिक हिन्दी गीतका लागि परिचित शानको फरक शैलीको प्रस्तुतिले दर्शकलाई आश्चर्यचकित बनाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।कन्सर्टका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रशंसकले उनको गायन र नृत्यको प्रशंसा गरेका छन् । प्रस्तुतिका क्रममा शानले ज्याक्सनको चर्चित हाउभाउ, टोपी प्रयोग गर्ने शैली र तीव्र नृत्य चालसमेत अनुकरण गरेका थिए ।
सामाजिक सञ्जाल एक्समा एक प्रशंसकले कन्सर्टको भिडियो साझा गर्दै शानप्रतिको आफ्नो किशोरावस्थाको आकर्षण फेरि जागेको प्रतिक्रिया दिएका छन् । शान्तनु मुखर्जी वास्तविक नाम भएका शान ‘तन्हा दिल’, ‘वो पहली बार’, ‘चाँद सिफारिस’, ‘जब से तेरे नैना’ र ‘बहती हवा सा था वो’ जस्ता लोकप्रिय गीतका गायक हुन् । विभिन्न सांगीतिक शैलीमा प्रस्तुति दिँदै आएका शानको दुबई कन्सर्टले उनलाई हिन्दी रोमान्टिक गीतभन्दा फरक अंग्रेजी पप संगीतमा समेत प्रस्तुत हुने गायकका रूपमा देखाएको छ । माइकल ज्याक्सनको गीत र नृत्य शैलीलाई पुनः प्रस्तुत गर्दै उनले अन्तर्राष्ट्रिय पप संगीतप्रतिको आफ्नो रुचिसमेत दर्शाएका छन् ।










