जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्यका लागि क्यानडासहित अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नु भएको छ । क्यानडा ड्याम एसोसिएसनको वार्षिक सम्मेलन २०२६ तथा ‘ट्रेड सो’ मा सहभागी हुन क्यानेडा पुग्नु भएका डाँगीले कार्यक्रमलाई सम्बोधन गर्दै क्यानडासँग बाँध इन्जिनियरिङ, जलाशययुक्त आयोजना, जलविद्युत् प्रविधि र जलवायु उत्थानशील पूर्वाधार विकासमा रहेको अनुभव नेपालका लागि उपयोगी हुने हुँदा सहकार्य गर्न सकिने बताँउनु भएको छ ।

 

अध्यक्ष डाँगीले नेपालमा जलविद्युत् विकासका लागि अपार सम्भावना रहेको उल्लेख गर्दै सुरक्षित, दिगो र जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्ने जलविद्युत् आयोजना निर्माणमा नेपाल र क्यानडाबीच सहकार्यको ठूलो अवसर रहेको बताँउनु भयो । नेपालले पर्याप्त जलविद्युत् सम्भावना र विस्तार हुँदै गएको ऊर्जा बजार उपलब्ध गराउन सक्ने भएकाले दुवै देशका लागि दीर्घकालीन तथा पारस्परिक लाभदायक साझेदारीको अवसर रहेको उहाँले उल्लेख गर्नु भयो । उहाँले नेपालमा जलविद्युत् उत्पादन क्षमता विस्तार गर्न, ठूला जलाशययुक्त आयोजना विकास गर्न, बाँध सुरक्षालाई प्रभावकारी बनाउन तथा आधुनिक प्रविधिको उपयोग बढाउन क्यानडाको अनुभव महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्नु भयो।

 

सन् २००१ मा स्थापना भएको निजी ऊर्जा उत्पादकहरूको छाता संगठन इप्पानले नेपालको ऊर्जा क्षेत्रमा निजी लगानी प्रर्वधन र जलविद्युत् विकासका लागि निरन्तर काम गर्दै आएको अध्यक्ष डाँगीले बताउनु भयो । ‘सन् १९९९ देखि जलविद्युत् क्षेत्रमा निजी क्षेत्रको सहभागिता सुरु भएपछि नेपालको विद्युत् उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि भएको छ,’ उहाँले भन्नु भयो, ‘नेपालमा विद्युत् उत्पादनको कुल जडित क्षमता करिब ४.३ गिगावाट पुगेको छ, जसमध्ये ८० प्रतिशतभन्दा बढी क्षमता निजी क्षेत्रबाट विकास गरिएका आयोजनाको योगदान छ ।’

 

नेपालको जलविद्युत् सम्भावना विशाल रहेको उल्लेख गर्दै अध्यक्ष डाँगीले सन् २०१९ मा जल तथा ऊर्जा आयोगको सचिवालयले गरेको आकलन तथा अन्य विभिन्न अध्ययनले नेपालमा २०० गिगावाटभन्दा बढी जलविद्युत् उत्पादनको प्राविधिक सम्भावना रहेको बताउनु भयो। रन अफ रिभर, पिकिङ रन अफ रिभर, जलाशययुक्त तथा पम्प्ड स्टोरेज आयोजना विकासमार्फत नेपाल दक्षिण एसियाको स्वच्छ तथा हरित ऊर्जाको प्रमुख केन्द्र बन्न सक्ने उहाँको भनाइ थियो । नेपाल सरकारले सन् २०३५ सम्म विद्युत् उत्पादनको जडित क्षमता ३० हजार मेगावाट पु¥याउने महत्त्वकांक्षी लक्ष्य लिएको बताउँदै डाँगीले यो लक्ष्य हासिल गर्न हालको क्षमताबाट थप २४ हजार मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमता विकास गर्नुपर्ने आवश्यकता रहेको र यसमा निजी क्षेत्रको लगानी महत्त्वपूर्ण हुने पनि बताँउनु भयो । यस लक्ष्यले नेपालको बढ्दो आन्तरिक विद्युत् माग पूरा गर्नुका साथै छिमेकी मुलुकमा विद्युत् निर्यात विस्तार गर्ने अवसरसमेत सिर्जना गर्ने उहाँको भनाइ थियो । उत्पादन आयोजना, प्रसारण लाइन तथा अन्तरदेशीय विद्युत् व्यापारका पूर्वाधारको विकाससँगै नेपालले छिमेकी देशहरूमा १५ हजार मेगावाटसम्म विद्युत् निर्यात गर्ने लक्ष्य राखेको समेत उहाँले सम्मेलनमा जानकारी गराँउनु भयो ।

 

अध्यक्ष डाँगीले नेपालमा लगानी र अन्तर्राष्ट्रिय सहकार्यका लागि सम्भावना बोकेका प्रमुख आयोजनाहरूको चर्चा गर्दै तमोर जलाशय (७६२ मेगावाट), दूधकोशी जलाशय (६७० मेगावाट), बूढीगण्डकी जलाशय (१२०० मेगावाट) र माथिल्लो अरुण (१०६० मेगावाट) लगायत आयोजना महत्त्वपूर्ण भएको बताउनु भयो । यी आयोजनासहित विकासको विभिन्न चरणमा रहेका अन्य आयोजनामा लगानी, आयोजना वित्त व्यवस्थापन, इन्जिनियरिङ, निर्माण, बाँध सुरक्षा, ऊर्जा भण्डारण तथा आधुनिक प्रविधिको प्रयोगका क्षेत्रमा अन्तर्राष्ट्रिय साझेदारी आवश्यक रहेको उहाँले बताउनु भयो । नेपालको ९८ प्रतिशतभन्दा बढी जनसंख्यामा विद्युतको पहुँच पुगेको उल्लेख गर्दै अध्यक्ष डाँगीले जलविद्युतले आर्थिक वृद्धि, रोजगारी सिर्जना, जनजीवनको गुणस्तर सुधार र स्वच्छ ऊर्जा व्यापार विस्तारमा योगदान पु¥याइरहेको बताँउनु भयो। क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउन सके नेपालले दक्षिण एसियामा स्वच्छ विद्युत् आपूर्तिको महत्त्वपूर्ण स्रोतका रूपमा आफूलाई स्थापित गर्न सकिनेमा उहाँले जोड दिनु भयो । उहाँले जलविद्युत् आयोजना विकास, लगानी, अनुसन्धान, प्रविधि हस्तान्तरण, व्यावसायिक तालिम तथा जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्ने पूर्वाधार निर्माणका क्षेत्रमा अन्तर्राष्ट्रिय संस्था, लगानीकर्ता, विकासकर्ता र प्राविधिक विज्ञलाई नेपालसँग सहकार्य गर्न आग्रह गर्नु भयो।

 

क्यानडा ड्याम एसोसिएसनले ‘टाइड्स अफ चेन्ज’ अर्थात् परिवर्तनका लहरहरू भन्ने मूल विषयमा आयोजना गरेको सम्मेलनको प्रशंसा गर्दै अध्यक्ष डाँगीले यस्ता अन्तर्राष्ट्रिय मञ्चले ज्ञान, अनुभव र प्रविधि आदानप्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । बाँध सुरक्षा, जलवायु उत्थानशीलता र दिगो जलविद्युत् विकासका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको पनि उहाँले बताउनु भयो । कार्यक्रममा इप्पानका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कार्यक्रम व्यवस्थापन समितिका संयोजक आनन्द चौधरीले नेपालको जलविद्युत् सम्भावना, हालैको भोटेकोशी बाढीबाट प्राप्त महत्त्वपूर्ण पाठ तथा अन्तर्राष्ट्रिय सहकार्यका अवसरबारे प्रस्तुति दिने कार्यक्रम छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले

चक्रवात ‘अर्नब’को प्रभावले आन्ध्र प्रदेशमा भारी वर्षा र तीव्र हावाहुरी

काठमाडौं,११ कार्तीक । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन्

जनकपुर र कर्णाली भिड्दै, जनकपुरले टस जितेर फिल्डिङ रोज्यो

काठमाडौं,१० कार्तीक । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो दिनको दोस्रो खेलमा अहिले जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि