दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको छ।नाता फाउन्डेसनको आयोजनामा कात्तिक १२ देखि १५ गतेसम्म दमक–१ स्थित मातृभूमि पार्टी प्यालेसमा चार दिने महोत्सव सञ्चालन हुनेछ। महोत्सवमा सांस्कृतिक झाँकी, चित्रकला प्रदर्शनी, परम्परागत परिकारका स्टल, साहित्यिक कार्यक्रम, कला कार्यशाला तथा साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ।
विद्यार्थी तथा युवालाई लक्षित गर्दै लागूऔषध दुरुपयोगविरुद्ध सचेतनामूलक रचनात्मक गतिविधि समेत समावेश गरिनेछ। महोत्सव सम्पन्न गर्न करिब १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।पत्रकार सम्मेलनमा फाउन्डेसनका अध्यक्ष जितेन साम्पाङले स्थानीय कला, साहित्य र प्रतिभालाई प्राथमिकता दिएर महोत्सवको तयारी गरिएको बताउनुभयो।
आयोजकका अनुसार कात्तिक १२ गते उद्घघाटन तथा चित्रकला प्रदर्शनी, १३ गते दमक काव्य उत्सव, १४ गते कला कार्यशाला र १५ गते साङ्गीतिक महोत्सवसहित समापन कार्यक्रम हुनेछ। महोत्सवका कार्यक्रम प्रत्येक दिन बिहान १० बजेदेखि सञ्चालन हुनेछन्।स्थानीय अग्रज र नयाँ पुस्ताका प्रतिभालाई एउटै मञ्चमा जोड्दै दमकको कला तथा संस्कृतिलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने लक्ष्य सहित महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।










