इलाम,१३ कार्तीक । पूर्वी पहाडी जिल्ला इलाममा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने लगायत चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग राख्दै डा. गोविन्द केसीले सुरु गरेको सत्याग्रह दोस्रो दिन पनि जारी छ।
इलाम नगरपालिका–६ स्थित नारायणस्थान मन्दिरमा बिहीबार साँझ ५ बजेदेखि उहाँले आफ्नो २५औँ सत्याग्रह सुरु गर्नु भएको हो।डा. केसीले इलामसहित ताप्लेजुङ, पाँचथर र तेह्रथुमका नागरिकलाई लक्षित गरी इलाममा सरकारी मेडिकल कलेज स्थापना तथा सञ्चालन गर्नुपर्ने माग अघि सार्नु भएको छ।पूर्वी पहाडी जिल्लामा मेडिकल कलेज नहुँदा यहाँका विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि अन्यत्र जानुपर्ने र नागरिकले विशेषज्ञ स्वास्थ्य सेवाका लागि टाढाका अस्पताल धाउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ।
उहाँले चिकित्सा शिक्षा आयोगका निर्णयमा देखिएको स्वार्थको द्वन्द्व छानबिन गर्न, निर्धारित मापदण्ड पूरा नगरेका शिक्षण संस्थामा शैक्षिक कार्यक्रम सञ्चालन रोक्न र छात्रवृत्तिसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न माग गर्नु भयो।त्यसैगरी विगतमा सरकारसँग भएका चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा सुधारसम्बन्धी सहमति कार्यान्वयन गर्नुपर्ने उहाँको माग छ।डा. केसीको सत्याग्रह दोस्रो दिनमा प्रवेश गरेसँगै सत्याग्रहस्थलमा सुरक्षा निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीय नागरिकको उपस्थिति बढ्न थालेको छ।










