हेटौँडा ,१४ कार्तीक। कुलेखानी जलाशयमा पानीको सतह बढ्दै गएपछि पहिलो चेतावनी जारी गरिएको छ । नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथम आयोजनाले जलाशयमा पानीको मात्र बढ्दै गएकाले पहिलो चेतावनी जारी गरिएको हो ।कुलेखानी जलविद्युत आयोजनाको जलाधार क्षेत्रमा भइरहेको निरन्तर वर्षाका कारण जलाशय (इन्द्रसरोवर) मा पानीको सतह बढ्दै गएको छ । जलसतह सन्तुलित राख्न बाँधको ढोका खोल्नुपर्ने सम्भावनालाई मध्यनजर गर्दै कुलेखानी प्रथम जलविद्युत् केन्द्रले ‘पहिलो चेतावनी’ जारी गरेको हो ।
आयोजनाका अनुसार पानीको वृद्धिदर उच्च रहेकाले जलसतह नियन्त्रण गर्न ड्यामका ढोका खोल्नुपर्ने अवस्था आएमा थप सूचना सम्प्रेषण गरी पूर्व चेतावनीको साइरन बजाइनेछ । आयोजनाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै ड्यामको तल्लो तटीय क्षेत्र तथा नदी किनार आसपासका बस्तीमा रहेका सम्पूर्ण नागरिकहरूलाई खोला किनारबाट टाढा अग्लो र सुरक्षित स्थानमा सर्न आग्रह गरेको छ ।साथै, सो क्षेत्र भएर आवतजावत गर्ने देउराली–सिस्नेरी सडक खण्ड प्रयोग गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ ।यसैबिच, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार हाल कुलेखानी ड्याममा पानीको सतह १ हजार ५२७.९३ मिटर पुगिसकेको छ ।
वर्षा निरन्तर जारी रहेकाले अबको केही घण्टामै जलसतह १ हजार ५२८ मिटर पार हुने देखिएको उहाँले बताँउनु भयो। प्रजिअ अधिकारीले नदी आसपास क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल गर्नु भएको छ भने विपद्को जोखिमबाट बच्न आयोजनाबाट जारी हुने आधिकारिक सूचनाहरू र मोबाइलमा आउने एसएमएस सतर्कता सन्देशमा उल्लिखित निर्देशनहरूलाई पूर्ण रूपमा पालना गर्न निर्देशन गर्नु भएको छ ।










