दमक, १६ कात्तिक। झापाको दमकमा बिहोना युनिसेक्स फेमिली सैलुन तथा एकेडेमी सञ्चालनमा आएको छ। दमक नगरपालिका–६ स्थित देवकोटा चोकको ठीक पश्चिमतर्फ पूर्व फर्किएको घरको पहिलो तलामा स्थापना गरिएको एकेडेमीको उद्घाटन गरिएको हो।
दमक नगरपालिकाकी सामाजिक विकास समिति संयोजक शारदा भट्टराई सापकोटाले रिबन काटेर एकेडेमीको उद्घाटन गर्नुभएको हो।
मोरङको उर्लाबारी निवासी नेहा जैसवालले सञ्चालनमा ल्याउनुभएको यस एकेडेमीमा महिला तथा पुरुष दुवैका लागि विभिन्न सौन्दर्यसम्बन्धी सेवा उपलब्ध हुनुका साथै सौन्दर्यकलासम्बन्धी सीपमूलक तालिमसमेत प्रदान गरिने सञ्चालिका जैसवालले बताउनुभयो।
एकेडेमीमा सौन्दर्यसम्बन्धी सेवा प्रदान गर्न ६ जना दक्ष सौन्दर्य विशेषज्ञ कार्यरत छन्। विभिन्न विधामा दक्ष जनशक्तिमार्फत मेकअप आर्ट, हेयर कटिङ, नेल आर्टलगायतका सेवा उपलब्ध गराइँदै आएको छ।
त्यसैगरी, अनुभवी प्रशिक्षकमार्फत अन्तर्राष्ट्रिय स्तरका सौन्दर्य सामग्रीको प्रयोग, प्रविधि र कार्यविधिबारे व्यावहारिक तालिमसमेत प्रदान गरिने व्यवस्था मिलाइएको छ।
सुविधासम्पन्न तालिम केन्द्रका रूपमा स्थापना गरिएको एकेडेमीमा सौन्दर्यसम्बन्धी विभिन्न सेवा प्रदान गर्न छुट्टाछुट्टै क्याबिनको व्यवस्था गरिएको छ। उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी सामाजिक विकास समिति संयोजक सापकोटाले एकेडेमीले सौन्दर्य क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न योगदान पुर्याउने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिनुभयो।
करिब ५५ लाख रुपैयाँको लगानीमा सञ्चालनमा आएको यस एकेडेमीले एउटै छानामुनि सौन्दर्यसम्बन्धी सेवा र व्यावसायिक तालिम उपलब्ध गराउने उद्देश्य राखेको छ। अन्तर्राष्ट्रिय स्तरका सौन्दर्य सामग्री र आधुनिक प्रविधिको प्रयोगले सेवा तथा तालिमलाई थप गुणस्तरीय बनाउने सञ्चालकको दाबी छ।










