नेता, मन्त्री र जनप्रतिनिधि फेरिए तर फेरिएन इलाका प्रहरी कार्यालय कटहरियाको मुहार

रौतहट , कार्तिक १७। रौतहटको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को केन्द्र तथा जिल्लाकै चर्चित बजार कटहरियामा रहेको इलाका प्रहरी कार्यालयले भवन अभावको समस्या झेलेको वर्षौं भइसक्यो । राजनीतिक नेतृत्व फेरियो, सांसद र मन्त्री फेरिए, नगरपालिकामा दुईपटक नेतृत्व परिवर्तन भयो, तर प्रहरी कार्यालयको भवन, जग्गा र स्तरोन्नतिको समस्या भने जहाँको त्यहीँ छ । यो प्रहरी कार्यालय अहिले पनि ‘ग’ श्रेणीमै सीमित छ । प्रहरी नायब निरीक्षक (सई) को कमाण्डमा रहेको यो कार्यालयसँग न आफ्नै नाममा पर्याप्त जग्गा छ, न त सुविधासम्पन्न भवन । यो कार्यालयलाई आपराधिक कार्यको मुद्दा दर्ता गर्ने अधिकार पनि छैन । सामान्य ठाडो उजुरीबाहेक कानुनी प्रक्रिया अघि बढाउन स्थानीयले इलाका प्रहरी कार्यालय गरुडा वा जिल्ला प्रहरी कार्यालय गौर धाउनुपर्ने बाध्यता छ । पूर्वमन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले आफ्नो क्षेत्रमा रहेको यही प्रहरी कार्यालयलाई प्रहरी नायब उपरीक्षक (डीएसपी) तहसम्मको नेतृत्वमा पुर्‍याउने सार्वजनिक प्रतिबद्धता जनाएका थिए । यद्यपि अवस्था सुधार आउन सकेन । २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट रौतहट क्षेत्र नम्बर ३ मा उम्मेदवारी दिएका प्रभु साह ठुलो मतान्तरसहित निर्वाचित भएका थिए । विकासप्रेमी नेताका रूपमा परिचित साहलाई त्यसबेला क्षेत्रका मतदाता र बुद्धिजीवीले समेत खुलेर समर्थन गरेका थिए । निर्वाचित भएको करिब एक महिनापछि पहिलोपटक कटहरिया आउँदा स्थानीय कार्यकर्ता तथा व्यापारी योगेन्द्र साहको घरमा उनको सम्मानमा भोज आयोजना गरिएको थियो । सोही अवसरमा स्थानीयसँगको कुराकानीमा साहले कटहरियाको प्रहरी कार्यालयको अवस्थाबारे चासो व्यक्त गर्दै प्रतिबद्धता जनाएका थिए । उनले भनेका थिए, ‘चिन्ता नलिनुस्, म इलाका प्रहरी कार्यालय कटहरियामा डीएसपी बसेको हेर्न चाहन्छु । त्यसका लागि पहल गर्छु ।’

तर, वर्षौं बित्दा पनि उनको सो प्रतिबद्धता कार्यान्वयन हुन सकेन । उनी त्यसपछि सहरी विकासमन्त्रीसमेत बने । २०७९ को निर्वाचनमा पुनः स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधि सभामा उनी निर्वाचित भए । उनको नेतृत्व र पहलमा क्षेत्रका विभिन्न स्थानमा सडक तथा पूर्वाधार विकासका काम भए । उनकै पहलमा स्थापना भएका मौलापुर, देवाही गोनाही र विजयपुरका प्रहरी कार्यालयको समेत स्तरोन्नति भएर इन्स्पेक्टरको दरबन्दी कायम भएको छ । तर, क्षेत्रकै केन्द्रमा रहेको कटहरिया प्रहरी कार्यालय भने प्राथमिकतामा पर्न सकेन । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि रौतहट क्षेत्र नम्बर ३ बाट विभिन्न राजनीतिक दलका नेताले प्रतिनिधित्व गरे । नेपाली कांग्रेसका स्वर्गीय हरिहरप्रसाद यादव दुई पटक निर्वाचित भए । त्यसपछि जनता समाजवादी पार्टीबाट गोविन्द चौधरी दुई पटक, नेकपा एमालेबाट डा. वंशीधर मिश्र एक पटक, नेपाली कांग्रेसबाट सुनिल यादव जितेन्द्र एक पटक र प्रभु साह दुईपटक संघीय संसदमा पुगे । प्रदेश सभातर्फ कुन्दन कुशवाहा र सुनिलकुमार यादव निर्वाचित भए । स्थानीय सरकारमा पनि नेतृत्व परिवर्तन भयो । २०७४ मा माओवादी केन्द्रका सियाराम कुशवाहा कटहरिया नगरपालिकाको मेयर बने भने २०७९ मा नेपाली कांग्रेसका अजयप्रकाश जैसवाल निर्वाचित भए । वडा नम्बर ५ मा नेपाली कांग्रेसका सर्फलाल गुप्ता दुईपटक वडाध्यक्ष बने ।प्रभु साहका निकट मानिने सियाराम कुशवाहाले मेयरको कार्यकाल पूरा गरे । त्यसपछि आएका मेयर जैसवाल र दुई कार्यकाल वडाध्यक्ष बनेका गुप्ताले समेत प्रहरी कार्यालयको जग्गा तथा स्तरोन्नतिको विषयलाई प्राथमिकतामा राख्न नसकेको स्थानीयको गुनासो छ ।२०७४ को निर्वाचनपछि मेयर कुशवाहा र प्रदेश सांसद कुन्दन कुशवाहाले सामान्य पहल गरेको बताइए पनि ठोस परिणाम आउन सकेन ।यसरी क्षेत्रको नेतृत्व गर्ने सांसद, मन्त्री, प्रदेश सांसद, मेयर र वडाध्यक्ष फेरिँदै गए पनि कटहरियाको प्रहरी कार्यालयको अवस्था भने दशकौँ पुरानै संरचनामा अड्किएको छ ।

२३ जनाको दरबन्दी, कार्यरत १० जनामात्रै

इलाका प्रहरी कार्यालय कटहरियामा सईको कमाण्डमा २३ जना प्रहरीको दरबन्दी छ, तर हाल १० जनामात्रै कार्यरत रहेको कार्यालय प्रमुख वरिष्ठ सई जय प्रकाश साहले जानकारी दिए । आवश्यक जनशक्ति नहुँदा नियमित गस्ती, बजार सुरक्षा तथा नागरिकको जिउधनको सुरक्षा प्रभावकारी बनाउन कठिनाइ भइरहेको उनको भनाइ छ । कार्यालयको कार्यक्षेत्र कटहरिया नगरपालिकाका ५ वडा २ वडा मातहत ठुलो क्षेत्र छ, तर सीमित जनशक्ति र पुरानो भौतिक संरचनाका कारण प्रहरीलाई सेवा प्रवाहमा चुनौती थपिएको छ ।कटहरिया–५ का समाजसेवी दिनानाथ साहका अनुसार सामान्य विवादबाहेक मुद्दा दर्ता वा कानुनी प्रक्रिया अघि बढाउन पनि गरुडा अथवा गौर पुग्नुपर्ने अवस्था छ । ‘सानो कामका लागि पनि टाढा जानुपर्छ । ठुलो विवादको पञ्चायती गर्नुपर्दा समेत गरुडा वा गौर पुग्नुपर्ने बाध्यता छ । यसले सर्वसाधारणको समय र पैसा दुवै खर्च भइरहेको छ,’ उनले भने ।

जग्गा विवाद नै भवन निर्माणको मुख्य बाधक

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालका अनुसार इलाका प्रहरी कार्यालय कटहरियाको नाममा जग्गा दर्ता नभएकै कारण भवन निर्माण तथा स्तरोन्नतिको काम अघि बढ्न नसकेको हो । स्थानीय तह वा अन्य कुनै निकायको पहलमा प्रहरी कार्यालयको नाममा जग्गा दर्ता गराउन सके सरकारले भवन निर्माणका लागि बजेट उपलब्ध गराउने र कार्यालयको स्तरोन्नतिको बाटो खुल्ने उनले बताए ।इलाका प्रहरी कार्यालय कटहरियाले हाल ओगटेको १७ कठ्ठा जग्गामध्ये आठ कठ्ठामा प्रहरी कार्यालयको मोही हक कायम छ भने बाँकी नौ कठ्ठाको जग्गाधनी स्थानीय सन्तलाल साह छन् । जग्गाको स्वामित्व र दर्तासम्बन्धी समस्या समाधान नहुँदा सरकारी लगानीमा नयाँ भवन निर्माण हुन सकेको छैन । सात दशकभन्दा लामो इतिहास बोकेको प्रहरी कार्यालय आज पनि पुरानै भौतिक संरचनामा सञ्चालन भइरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

उमा भुजेल नेतृत्वको समूह आज नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै, पेरिसडाँडामा एकता घोषणा सभा

विराटनगर , कार्तिक १७। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट विद्रोह गरी उमा भुजेलको नेतृत्वमा बनेको राजनीतिक समूह नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित

एनपीएलमा लोकेश बमको अर्धशतक : २९ बलमा ५० रन बनाएर आउट

काठमाडौं , कार्तिक १७। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्धको खेलमा विराटनगर किङ्ग्सका ओपनर लोकेश बम अर्धशतक पूरा गरेपछि आउट भएका छन् ।कीर्तिपुरस्थित त्रिवि

१० महिनामै पौने तीन लाख विदेशी पर्यटक मुस्ताङमा : सङ्ख्यामा ७७ प्रतिशतभन्दा बढीको वृद्धि

मुस्ताङ , कार्तिक १७। सन् २०२६ को दश महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । जनवरीदेखि अक्टोबरसम्म

मेची भन्सारले पहिलो तीन महिनामा उठायो चार अर्ब ६७ करोड राजस्व, लक्ष्यको झन्डै ९५ प्रतिशत हासिल

झापा , कार्तिक १७। मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३-८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ ।

५९ बिघा जग्गा सट्टापट्टा गरी बिक्री गरेको आरोपमा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध अख्तियारको मुद्दा

काठमाडौँ , कार्तिक १७। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीनेन्द्र रिजालविरुद्ध  भ्रष्टाचार मुद्दा विशेष अदालतमा पुगेको छ । सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी

पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा अर्को भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौँ , कार्तिक १७। पूर्वप्रधानमन्त्री माधव नेपाललाई प्रतिवादी बनाएर अर्को मुद्दा विशेष अदालतमा पुगेको छ । पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा मुद्दा छिनोफानो नहुँद उनीविरुद्ध अख्तियार

बिचौलियासँगको उठबस विवादमा तानिएपछि सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा

काठमाडौँ , कार्तिक १७ । विवादमा तानिएका सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल बिदामा बसेका छन्। सर्वोच्चका प्रवक्ता अशोक क्षेत्रका अनुसार फुयाल मंगलबार (आज)देखि शुक्रबारसम्म चार