काठमाडौं , कार्तिक १७। अमेरिकामा मध्यावधि निर्वाचनअन्तर्गत मतदाताले मंगलबार मतदान गर्दैछन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको राजनीतिक दिशा र अमेरिकी कंग्रेसका दुवै सदनमा शक्ति सन्तुलन निर्धारण गर्ने भएकाले यस निर्वाचनलाई महत्त्वका साथ हेरिएको छ ।अमेरिकी कंग्रेसको तल्लो सदन प्रतिनिधिसभा र माथिल्लो सदन सिनेटमा बहुमत कायम गर्ने प्रतिस्पर्धा निर्वाचनको मुख्य विषय बनेको छ । रिपब्लिकन पार्टी आफ्नो बहुमत जोगाउने प्रयासमा छ भने डेमोक्रेटिक पार्टीले विभिन्न राज्यमा महत्त्वपूर्ण सिट जित्ने रणनीति बनाएको छ । विशेषगरी टेक्सास, जर्जिया, मिशिगन, मेन, ओहायो, आयोवा, विस्कन्सिन, नेभाडा र फ्लोरिडाका प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ । यी राज्यमा सिनेट र गभर्नर पदका लागि कडा प्रतिस्पर्धा देखिएको छ । टेक्सासमा सिनेटका लागि रिपब्लिकन केन प्याक्सटन र डेमोक्रेटिक पार्टीका जेम्स तालारिकोबीच प्रतिस्पर्धा छ । गभर्नर पदमा रिपब्लिकन ग्रेग एबट र डेमोक्रेटिक उम्मेदवार गिना हिनोजोसाबीच प्रतिस्पर्धा भइरहेको छ । सन् १९८८ यता टेक्सासबाट कुनै पनि डेमोक्रेटिक उम्मेदवार सिनेटमा निर्वाचित भएका छैनन् ।
ओहायोमा पूर्व डेमोक्रेटिक सिनेटर सेरोड ब्राउनले रिपब्लिकन जोन हस्टेडलाई चुनौती दिएका छन् । त्यहाँ गभर्नर पदका लागि रिपब्लिकन विवेक रामास्वामी र डेमोक्रेटिक उम्मेदवार एमी एक्टनबीच प्रतिस्पर्धा छ ।मिशिगनमा सिनेटको रिक्त सिटका लागि रिपब्लिकन माइक रोजर्स र डेमोक्रेटिक उम्मेदवार अब्दुल एल–सायेद प्रतिस्पर्धामा छन् । जर्जियामा डेमोक्रेटिक सिनेटर जोन ओसोफले रिपब्लिकन माइक कोलिन्ससँग आफ्नो सिट जोगाउने प्रयास गरिरहेका छन् । त्यस्तै, मेनमा रिपब्लिकन सिनेटर सुसान कोलिन्स र डेमोक्रेटिक उम्मेदवार ट्रोय ज्याक्सनबीच प्रतिस्पर्धा छ । फ्लोरिडामा सिनेट र गभर्नर पदका लागि दुवै प्रमुख दलका उम्मेदवार चुनावी मैदानमा छन् ।निर्वाचनबाट प्रतिनिधिसभा र सिनेटमा कुन दलको प्रभाव कायम हुन्छ भन्ने टुंगो लाग्नेछ । त्यसले राष्ट्रपति ट्रम्पको बाँकी कार्यकालमा नीति निर्माण तथा सरकारका निर्णय कार्यान्वयनमा समेत प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
केशम टापुमा अमेरिकी आक्रमण
यसैबीच, इरानसँग जारी द्वन्द्व अन्त्यका लागि वार्तामा प्रगति भइरहेको सङ्केत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिइरहेका बेला अमेरिकाले सोमबार इरानको केशम टापुमा आक्रमण गरेको समाचार सार्वजनिक भएको छ ।अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले नाम नखुलाइएका अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै हर्मुज जलघाँटीस्थित इरानको सबैभन्दा ठूलो टापु केशममा अमेरिकी आक्रमण भएको जनाएको छ । उक्त आक्रमण पछिल्ला साताहरूमा अमेरिकाले इरानविरुद्ध गोप्य रूपमा गर्दै आएका सीमित सैन्य कारबाहीको शृङ्खलामध्येको पछिल्लो घटना भएको समाचारमा उल्लेख छ । इरानको सरकारी समाचार संस्था इरनाका अनुसार केशम टापुमा छोटो समयको अन्तरालमा पाँचवटा विस्फोटका आवाज सुनिएका थिए । स्थानीय बासिन्दाले आकाशमा दुईवटा विमान उडिरहेको देखेको बताएका छन् । आक्रमणबारे अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेन्ट्रल कमान्डसँग जानकारी मागेको थियो । तर, सोमबार अबेरसम्म सेन्ट्रल कमान्डले एएफपीको टिप्पणीका लागि गरिएको अनुरोधमा तत्काल जवाफ दिएको थिएन ।
वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकाले पछिल्ला केही सातादेखि इरानविरुद्ध सीमित स्तरका आक्रमण गर्दै आएको छ । केही अमेरिकी अधिकारीले ती कारबाहीलाई रक्षात्मक प्रकृतिका बताएका छन् । उनीहरूका अनुसार यसको उद्देश्य इरानलाई हर्मुज जलघाँटीमा व्यापारिक जहाजमाथि आक्रमण गर्ने क्षमता र स्वतन्त्रता प्राप्त गर्नबाट रोक्नु हो । विश्वको प्रमुख तेल ढुवानी मार्गमध्ये एक हर्मुज जलघाँटीमा फेब्रुअरीको अन्त्यमा युद्ध सुरु भएयता अवरोध उत्पन्न भएको छ । यसले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति र तेल बजारमा समेत प्रभाव पारेको छ । अमेरिकाले केशम टापुमा भएको आक्रमणबारे सार्वजनिक रूपमा औपचारिक घोषणा नगरेको वाल स्ट्रिट जर्नलले जनाएको छ । यसलाई प्रमुख सैन्य कारबाही पुनः सुरु गर्ने अमेरिकी मनसायको सङ्केतका रूपमा समेत व्याख्या नगरिएको समाचारमा उल्लेख छ । यसअघि मध्यावधि निर्वाचनको एक दिनअघि सोमबार राष्ट्रपति ट्रम्पले इरानसँग सम्झौता हुन सक्ने बताएका थिए । द्वन्द्व अन्त्यका लागि सकारात्मक प्रगति भइरहेको सङ्केत दिएका ट्रम्पको अभिव्यक्तिका बीच भएको आक्रमणले अमेरिका–इरान सम्बन्ध र क्षेत्रीय सुरक्षालाई पुनः चर्चामा ल्याएको छ ।यसैबीच, इरानसँगको द्वन्द्व अन्त्य हुन सक्ने आशासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सोमबार सात प्रतिशतभन्दा बढीले घटेको समाचारमा उल्लेख छ । हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका कारण बढेको तेलको मूल्य वार्ताबाट समाधान निस्कने सम्भावनासँगै घटेको हो ।










