दमक,१८ कार्तीक ।दमक नगरपालिकाले तिहार लक्षित बजारलाई व्यवस्थित बनाउन तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न भन्सार छली गरी भित्र्याइएका र प्लास्टिकजन्य कृत्रिम फूल बिक्री–वितरणमा पूर्ण रोक लगाएको छ। यसअघि नगरपालिकाले गत कात्तिक १६ गते एक सार्वजनिक सूचना जारी गर्दै भन्सार छलेर ल्याइएका तथा प्लास्टिकका फूलहरू बिक्री–वितरण गरेको पाइएमा तत्काल जफत गरी नष्ट गर्ने निर्णय गरेको थियो। सोही सूचना कार्यान्वयनका लागि कात्तिक १७ गते नगरपालिकाका प्रतिनिधि, इलाका प्रहरी कार्यालय तथा नगर प्रहरीको संयुक्त टोलीले बजार क्षेत्रमा अनुगमन गरेको छ।
अनुगमनका क्रममा टोलीले पसल–पसलमै पुगेर बिक्रीका लागि राखिएका फूलहरूको सूक्ष्म परीक्षण गरेको थियो। सो क्रममा फेला परेका प्लास्टिकजन्य फूलहरू टोलीले जफत गरेको छ।
त्यसैगरी, सार्वजनिक आवागमनमा अवरोध पुग्ने गरी फुटपाथमा व्यापार गरिरहेका व्यवसायीहरूलाई सम्झाई–बुझाई हटाउन लगाइएको थियो। कतिपय स्थानमा नगर प्रहरी आफैंले सहयोग गरी फुटपाथ खाली गराएको थियो भने पुनः फुटपाथ ओगटेर व्यापार गरे सामान नै जफत गरिने स्पष्ट चेतावनी समेत दिइएको छ।बजार क्षेत्रको निरीक्षणसँगै अनुगमन टोलीले स्थानीय सयपत्री फूलका बगानको समेत अवलोकन गरेको छ।दमकमा १३ जना युवाले ७ कट्ठाभन्दा बढी जग्गामा गरेको व्यावसायिक फूल खेतीबाट चाडपर्व लक्षित माग धान्न सकिने अनुमान गरिएको छ। नगरपालिकाको बजार अनुगमनका कारण स्थानीय उत्पादनले उचित बजार पाएको फूल व्यवसायी सन्तोष दाहाल बताउनुहुन्छ।
अनुगमनका क्रममा दमक नगरपालिकाकी उपमेयर रेगिना भट्टराई प्रसाईंले युवाहरूको पहिलो प्रयासलाई टेवा पु¥याउन स्थानीय उत्पादनकै फूल प्रयोग गर्न नगरवासीलाई आग्रह गर्नुभएको छ। साथै, उहाँले समयसापेक्ष मूल्य निर्धारण गर्दै हाल प्रतिमुठा÷माला रु. १०० मा सेवाग्राही र व्यापारी दुवैलाई एकै दरमा खरिद–बिक्री मिलाउन अनुरोध गर्नुभएको छ।दमक नगरपालिकाले पूर्वसूचना र माइकिङसहित बजार तथा माछामासु पसलहरूको निरन्तर अनुगमन गरिरहेको छ, जहाँ नियम मिच्ने जुस र मिठाई पसललाई जरिवाना समेत गरिएको छ। फुटपाथ खाली गरी व्यापार गर्न, खसीको मासु तोकिएको रु. १,२०० मा मात्र खरिद गर्न र सम्पूर्ण सेवाग्राहीलाई किनमेल गर्दा पूर्ण सचेत रहन दमक नगरपालिकाको उपमेयर रेगीना भट्टराइ प्रसाईले आग्रह गर्नु भएको छ।
स्थानीय उत्पादनको प्रवद्र्धन र बजारको स्वच्छता कायम राख्न दमक नगरपालिकाले चालेको यो कदमले उपभोक्ता, स्थानीय कृषक र स्वच्छ व्यवसायीहरूलाई फाइदा पुग्ने देखिन्छ। अवैध आयात र कालोबजारी रोक्न अनुगमनलाई निरन्तरता दिनु आवश्यक छ।










