झापा, ८ मंसिर । दक्षिणी सीमावर्ती नाकाबाट भित्रिने गरेको लागूऔषध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्दै आएका इलाका प्रहरी कार्यालय कुमरखोदका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) सुबास ढुङ्गाना जिल्लाकै उत्कृष्ट प्रहरी घोषित हुनु भएको छ।विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गरी उच्च मनोवल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गरेका प्रहरी नायव निरीक्षक ढुंगानालाई २०८३ साल कात्तिक महिनाको “उत्कृष्ट प्रहरी” ( पुलिस अफ द मन्थ) घोषणा गरिएको हो ।प्रहरी नायव निरीक्षक ढुंगानाले गत कात्तिक ११ गते झापा गाउँपालिका वडा नं. १ सालमारामा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाको सहयोगमा १५० ग्राम १४० मिलिग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गर्नु भएको थियो। भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३७एए ५३८० र मे ७ प ३ नम्बरको मोटरसाइकलमा सवार वडा नं. १ सालमारा बस्ने वर्ष ३६ का नसिम अख्तर मियाँ र सोही ठाउँ बस्ने वर्ष ३० का सलमान मियाँ पक्राउ परेका थिए ।
त्यस्तै गत कात्तिक १५ गते झापा गाउँपालिका वडा नं. ४ बेलायतीबारीबाट अवैध रूपमा बोरामा लुकाई छिपाई ल्याउँदै गरेको किङ कोब्रा नाम गरेको १३ बण्डल अन्दाजी मूल्य ३९ बराबरको र कात्तिक १६ गते झापा गाउँपालिका वडा नं. २ कुवाडीबाट अन्दाजी मूल्य १ लाख बराबरको २ बोरा विभिन्न किसिमको पटकाहरु नियन्त्रणमा लिई स्थानीय मानिसहरुको रोहबरमा नष्ट गरेका थिए ।त्यस्तै गत कात्तिक २८ गते झापा गाउँपालिका वडा नं. ५ खादा बस्तीमा १६ ग्राम ५४ मिलिग्राम ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गर्नु भएको थियो । भारतबाट नेपालतर्फ आउँदै गरेको प्र ०१–०१–०१५ प ८५६७ नं. को मोटरसाइकलमा सवार शिवसताक्षी नगरपालिका वडा नं. १ बस्ने वर्ष २४ का बुद्धिराज लिम्बू र वडा नं. १ बस्ने वर्ष २७ का कृष्णप्रसाद खरेललाई शंका लागेर चेकजाँच गर्दा उनीहरुले मोटरसाइकलको लाइटभित्र लुकाएर ल्याउँदै गरेको लागूऔषध फेला परेको थियो ।
अपराध नियन्त्रण, अवैध भन्सार चोरी छली तस्करी नियन्त्रण र लागूऔषध दुर्व्यसनी तथा बेचबिखन नियन्त्रण कार्यका लागि विभागीय नीति–निर्देशन बमोजिम इमान्दारितापूर्वक आफ्नो पदीय दायित्व निर्वाह गर्दै आएको हुँदा प्रहरी नायव निरीक्षक ढुंगानाबाट सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै उत्कृष्ट प्रहरी घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक बशुन्धरा खड्काले जनाँउनु भएको छ ।










