बिहान ७ बजेदेखि राति अबेरसम्मै राहदानी सेवा प्रवाह  

 

इलाम । जिल्ला प्रशासन कार्यालय इलामले बिहान सात बजेदेखि राति अबेरसम्मै राहदानी सेवा दिन थालेपछि सेवाग्राहीलाई सजिलो भएको छ ।अरुबेला दुई तीन दिनसम्म पालै नपाउने सेवाग्राहीले एकै दिनमा राहदानीको सबै सेवा पाएपछि बिहानैदेखिको सेवा प्रभावकारी बनेको देखिएको छ । पहाडी जिल्ला इलामका विभिन्न ठाउँबाट सेवा लिन आउनेहरुले एकै दिनमा काम सकिँदा सजिलो भएको बताएका छन् ।

‘पहिला–पहिला दुई तीन दिन समय लाग्छ भन्ने सुनेको थिएँ तर आज मेरो काम एकै दिनमा सकियो’, इलाम माङ्सेबुङ २ की गोसिका खड्काले भनिन् ‘म आजै बिहान घरबाट हिँडेको थिएँ । काम सकियो, अब साँझ घरै पुग्छु ।’ उनका अनुसार साँझ ५ बजेसम्म पनि जिल्ला प्रशासनको राहदानी फाँटमा डेढ सय जनाभन्दा बढी लाइनमा बसिरहेका छन् । लामो समयदेखि राहदानी बनाउन जुटेका तर पालो नआएकाहरुको लाइन अहिले दैनिक ठूलो हुने गरेको जिल्ला प्रशासनले जनाएको छ ।

‘अहिले बेलुकाको ५ बज्यो, अहिले पनि यहाँ डेढ सय जना लाइनमै हुनुहुन्छ’, जिल्ला प्रशासनका अधिकृत यादव राउतले भने ‘उहाँहरु सबैको काम सकेर मात्रै पठाउनेछौं । राति जति बजे पनि उहाँहरुलाई अर्को दिन आउनुस् भन्ने छैनौं ।’ उनका अनुसार दक्षिण र पश्चिम इलामका धेरै ठाउँ यस्ता छन्, जहाँका सर्वसाधारणले सदरमुकाम पुग्न झापा हुँदै जानुपर्छ । ‘चुलाचुली, बाँझो जस्ता ठाउँबाट आउनुभएका सेवाग्राहीहरुलाई बिहानैदेखि रातिसम्मको सेवाले राम्रो भएको छ । अचेल कोही पनि राहदानीका लागि अर्को दिन आउनु परेको छैन ।’ राहदानी विभागको सर्भर बेलाबेला समस्याग्रस्त हुँदा राति ढिला भएर कहिलेकाहीँ १० बजेसम्मै काम गर्नुपरेको उनले सुनाए ।

यो सेवाले दुर्गम र टाढाबाट आउने सेवाग्राहीलाई राहदानीकै लागि दुई तीन दिनसम्म होटलमा बस्नुपर्ने, आफन्त वा साथीभाईको घरमा बास बस्नुपर्ने झन्झटबाट मुक्ति दिएको छ । जिल्ला प्रशासनले यसरी बिहानदेखि राति अबेरसम्म राहदानीको सेवा दिन थालेको माघ २५ गतेदेखि हो । त्यसयता दैनिक कम्तीमा डेढ सय जनादेखि अधिकतम २१७ जनासम्मले राहदानीको काम सकाएका छन् ।

‘बिहानदेखि राति अबेरसम्मको सेवाले जनतालाई ज्यादै सहज भएको अनुभव गरेका छौं’, यो सेवा प्रारम्भ गराएका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भने ‘यहाँ ४–५ महिनादेखि पेन्डिङमा रहेकाहरु धेरै थिए । उहाँहरुलाई यसरी झुलाउने काम ठीक होइन । त्यसैले हामीले बिहानदेखि नै सेवा दिन थालेका हौं ।’

प्रजिअ पोखरेलका अनुसार राहदानीको ‘प्रि–इन्भल्भमेन्ट फारम’ भर्ने प्रक्रिया ज्यादै झन्झटिलो छ । सबै सर्वसाधारणको सूचना प्रविधिमा पहुँच नहुने हुँदा त्यो काम प्रशासन कार्यालय आसपासका साइबर क्याफे सन्चालकहरुले गरिदिने गर्थे । ‘जसले धेरै पैसा दियो, उसको फारम छिटो भरिदिने, कम दिनेलाई अर्को दिन आउनु भन्दै उनीहरुले पठाउने रहेछन्’, प्रजिअ पोखरेलले भने ‘म माघ १५ मा आएपछि यो कुरा थाहा पाएँ । अनि २५ गतेदेखि बिहानैदेखि राति अबेरसम्म काम हामी आफैले गरिदिन थाल्यौं ।’

राहदानी बनाउनका लागि आइपुग्नेहरुलाई बिचौलियाहरुले दुःख दिने गरेको र अहिले त्यो अन्त्य भएको प्रजिअ पोरखेलको भनाइ छ । अहिले प्रि इन्भल्भमेन्ट फारम जिल्ला प्रशासनकै कर्मचारीले भरिदिने गरेका छन् । नागरिकता, राष्ट्रिय परिचयपत्र, बिहे दर्ता, बसाइँसराई जस्ता सम्पूर्ण व्यक्तिगत विवरणको कागजात अपलोड गर्नुपर्ने भएकाले सर्वसाधारणलाई यो फारम भर्न झन्झट हुने गरेको छ । प्रशासनकै कर्मचारीले फाराम भरिदिएर फोटो खिचाएपछि सेवाग्राहीको काम सकिन्छ । उनीहरुले राहदानी विभागबाट राहदानी लिन सक्छन् ।

बिहान ७ बजेदेखि राति ८ बजेसम्म राहदानीको काम गर्नलाई केही जनशक्ति थपिएको र केहीलाई पालो बाँडेर काममा लगाइएको अधिकृत राउतले जानकारी दिए । ‘अधिकृतसहित ४–५ जना कर्मचारीहरु बिहानै आउँछौं र काम थाल्छौं’, उनले भने ‘बिहान आउने खरिदार, नासुहरुलाई दिउँसो १ बजे बिदा दिन्छौं । अधिकृतहरु चाहिँ रातिसम्मै बस्छौं । दिउँसो १ बजे आइपुग्ने कर्मचारीहरुले राति जतिबेलासम्म काम सकिन्न त्यसबेलासम्म सेवा दिने गर्नुभएको छ ।’

बिहान आउने कर्मचारीहरुलाई प्रशासन कार्यालयले बिहानको खाना खुवाउनेबाहेक अतिरिक्त सुविधा केही नदिएको र बजेट पनि नहुने प्रशासन कार्यालयको भनाइ छ । यसरी बिहानदेखि राति अबेरसम्म राहदानी सेवा कहिलेसम्म दिने भन्ने कुनै टुंगो भने छैन । ‘५० दिनमा पेन्डिङ रहेका र नयाँ आउनेहरुलाई सेवा दिएर भीड घट्ला भन्ने अनुमान छ’, प्रजिअ पोखरेलले भने ‘यो भीड नघटेसम्म हामी निरन्तरता दिनछौं । त्यसपछि के गर्ने भन्ने अनि निर्णय लिनेछौं ।’

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पत्रकार किशोर श्रेष्ठविरुद्ध रास्वपा नेता हिमेश पन्तद्वारा साइबर ब्युरोमा उजुरी

काठमाडौं , असोज ३०। कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य हिमेश पन्तले पत्रकार किशोर श्रेष्ठविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता गराउनुभएको

७१औँ प्रहरी दिवसमा उत्कृष्ट प्रहरी र अमर प्रहरीका सन्तति सम्मानित

काठमाडौं , असोज ३०। ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई

सरकारद्वारा खुला प्रतिस्पर्धाबाट विभिन्न सार्वजनिक निकायमा ६११ पदाधिकारी नियुक्त

काठमाडौं , असोज ३०। सरकारले पछिल्लो अवधिमा विभिन्न मन्त्रालय तथा सार्वजनिक निकायहरूमा खुला प्रतिस्पर्धा र पारदर्शी प्रक्रियामार्फत ६११ जना पदाधिकारी नियुक्ति गरेको छ । प्रधानमन्त्री

मन्त्रिपरिषद् बैठक : गहुँको समर्थन मूल्य निर्धारण, जापान र जर्मनीको अनुदान स्वीकार गर्ने निर्णय

काठमाडौं , असोज ३०। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का १३ मुख्य निर्णय सार्वजनिक गरेका

दशैंमा पिङ खेल्ने हो ? दमकका यी यूवाको सकृयतामा ठडीयो यी ठाउँमा पीङ

दमक, ३० असोज। गाउँघरमा दशैं आएको छनक नयाँ लुगा, मीठो परिकार र रातो टीकासँगै आकाश छुने लिङ्गे पिङले पनि दिन्थ्यो। पिङ मच्चाउँदै रमाउने बालबालिका, पालो

चिकित्सा शिक्षा आयोगद्वारा स्नातक र उच्च तहका सिट निर्धारण, सरकारी संस्थामा सिट वृद्धि

३० असोज, काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०८३/०८४ का लागि चिकित्सा शिक्षाका विभिन्न तहमा सिट निर्धारण गरेको छ । आयोगको २८औँ बैठकले स्नातक,