"सिपसँगै रोजगारको विकास "

सहकारीबाट निशुल्क सिप, सिप पछि सहुलियतमा ऋण, लक्ष्य आत्मनिर्भरताको (भिडियोमा हेरौ)

 

दमक/
झापाको कमल गाउँपालिका वडा नं ५ मंगलबारे बजारमा घिमिरे कपडा पसल तथा टेलरिङ सेन्टर चलाउनु हुन्छ भूमिका आचार्यले ।
श्रीमानले कपडाको पसल चलाउनु हुन्छ भने उहाँले टेलरिङको काम सम्हाल्नु हुन्छ । दुवैजना आफ्नै ठाउँमा बसेर हाँसी खुसी व्यवसाय गरेर बस्नु भएको छ । भूमिकाले टेलरिङ गर्ने काम कुनै प्रख्यात तालिम केन्द्रमा गएर अत्याधिक शुल्क तिरेर सिक्नु भएको होईन । उहाँले यो तालिम निशुल्क सिक्नु भएको हो ।

निशुल्क पनि सरकारको बजेट मार्फत होईन । गाउँमै रहेको इन्द्रेणि बहुउद्धेस्य सहकारी सस्था मार्फत सिक्नु भएको हो । त्यहाँ उहाँले एक महिना तालिम सिक्नु भयो । तालिम सक्ने बित्तिकै सामान्य सिलाई गर्न जान्नु भयो । सुरुका दिनमा घरकै कपडा सिलाउँन भनेर मेसिन किन्नु भयो । ।पछि समय फुर्सदिलो भएपछि छिमेकीहरुको पनि काम गर्दिन थाल्नु भयो । त्यसपछि उहाँमा थप आत्मविस्वास बढ्न थाल्यो कि अव मेरो सिपले मलाई पाल्न सक्ने रहेछ । त्यसैले उहाँले अहिले व्यवसायीक रुपमा पसल नै सुरु गर्नु भएको छ । जसबाट उहाँले मनग्गे आम्दानी पनि गर्नु भएको छ ।

भूमिकाको जस्तै लक्ष्य राखेर दक्ष बन्ने सोचमा हुनुहुन्छ कमल ७ कि रजिता भण्डारीको पनि । उहाँले यस इन्द्रेणी सहकारीमा निशुल्क सिलाई कटिङको तालिम सिक्न सुरु गरेको डेढ महिना भयो । अहिले उहाँल कुर्ति सुरुवाल सम्म सिलाउन सक्ने हुनु भयो । अझै सिपलाई तिखारेर आफै टेलरिँङ खोल्ने योजना रहेको भण्डारीले बताउनु भयो ।

छोरी मान्छे घरको सामान्य काम सकेपछि पछि प्राय फुर्सद हुने गर्दछन् । हातमा सिप नभएपछि काम पाउँन गाह्रो छ । केहि उद्यम गरौ भन्यो भने त्यस सम्बन्धीको ज्ञान कम भएका कारण लगानी जोखिममा पनि पर्न सक्छ । यस्तै अवस्था र सोच भएका बेरोजगार महिलाहरुकालागि सारथी बनेको छ यो सहकारी । यहाँ अहिले निशुल्क रुपमा सिलाई कटिङको तालिम चलिरहेको छ । यहाँ आउने हरेकले आफु उद्यम बन्छु भन्ने योजना नै बनाएर आउने गर्नु हुन्छ । महिला उद्यममा लाग्दा हरेक कुरामा सहज हुने भएकोले पनि यो तालिम प्रभावकारी बनिरहेको छ । यसको उदाहरण यहाँ तालिम लिइ रहेका प्रशिक्षार्थीकै कुरा सुन्दा मात्रै पनि पुग्छ ।

अहिले प्रत्येक दिन तीन समुह बनाएर तीन सिफ्टमा यहाँ तालिम सञ्चालन हुने गरेको छ । यहाँ सिलाई कटिङको तालिमसँगै कपडाको झोला तथा ब्याग बनाउने तालिम पनि दिइन्छ । यी सबै तालिम निशुल्क छ । १४ वर्ष देखी यहि ठाउँमा प्रशिक्षकको रुपमा काम गरिरहनु भएकी पार्वती खनाल भन्नु हुन्छ ‘यहाँ सिकेर गएका अधिकास महिलाहरुले कि त आफै टेलरिङ खोल्नु भएको छ कि त कसैको काम गर्नु भएको छ यदी त्यसो पनि गर्न सक्नु भएको छैन भने घरमै आफ्ना कपडा सिलाएर बाहिर हुने खर्च जोगाउनु भएको छ । यसको मतलव यहाँ सिकेको सिपले महिलाईहरुलाई रोजगार दिलाउन वा स्वरोजगार बन्न मद्यत पुगेको उहाँको भनाई छ ।

सस्थाले यसरी बेरोजगार महिलाहरुलाई निशुल्क रुपमा तालिम सिकाउन २०६७ साल देखी थालेको हो । गाउँका महिलाहरुलाई गाउँमै सिप दिने गाउँमै उद्यम गर्न प्रोत्साहन गर्ने लक्ष्यका साथ सस्थाले यो काम थालेको हो । सस्थाको काम देखेर बेला बेलामा यस्ता तालिम सञ्चालन गर्न भन्दै पालिका तथा वडा सरकारले बजेट पनि दिने गर्छ । तर सरकारले बजेट दिन्छ र त्यहि बाट तालिम सञ्चालन गर्ने भन्ने मात्रै चाहि सोच नभएको इन्द्रेणी बहुउद्धेस्य सहकारी सस्था लिमिटेडका व्यवस्थापक खगेन्द्र भण्डारीको भनाई छ। महिलाहरुलाई आत्मनिर्भर बनाएर महिला शशक्तिकरणमा योगदान पुर्याउनु नै सस्थाको प्रमुख लक्ष्य रहेको उहाँले प्रष्ट पार्नु भयो ।

अहिले सञ्चालन भइरहेको तालिममा चाहि कमल गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० बाट बिनियोजीत बजेटको आर्थीक सहयोग रहेको छ । तालिममा ३६ जना महिलाहरु सहभागी छन् । यो तीन महिनाको अवधिको तालिम हो । यो सकिएपछि सस्थाले आफ्नै लगानीमा पनि महिलाहरुलाई निशुल्क सिपका कुरा सिकाईरहेको जनाएको छ ।

भिडियोमा हेरौ

Share: