इलाम १५ असार । इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा आइतबार दिउँसो गोलिया (काठ) लोड गरेको ट्रक अनियन्त्रित भई करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ।
दिउँसो करिब ३:५० बजे इलामबाट झापातर्फ जाँदै गरेको प्र१-०१-००१ ख ३८७३ नम्बरको ट्रक दुर्घटनामा परेको हो। घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी गोलाखर्क र ट्राफिक प्रहरीको टोली घटनास्थलमा पुगेर आवश्यक उद्धार तथा अनुसन्धान सुरु गरेको थियो।
प्रहरीका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन। ट्रक चालक झापाको मेचीनगर नगरपालिका–१३ निवासी ३६ वर्षीय प्रकाश तिम्सिना सकुशल रहेको र उनलाई कुनै चोटपटक नलागेको जनाइएको छ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको भन्दै प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।









