पचास रुपैँयाले बढ्यो अम्लिसोको भाउ

धरान/
अघिल्लो वर्ष १ सय रुपैँया प्रतिकेजीमा किनबेच भएको अम्लिसो यो वर्ष भने पचास रुपैँया बृद्धि भएर बिनकेच भइरहेको छ । अर्थात १ सय पचास रुपैँया प्रतिकेजीमा बिक्रि भइरहेको धरानस्थित कृषिउपज बजारले जनाएको छ ।

कृषिउपज बजारस्थलका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार पछिल्लो समय पूर्वी पहाडी भेगका अधिकांश कृषक नगदेबाली छाडेर व्यावसायिकरूपमा अम्लिसो खेतीमा आकर्षित भएका छन् । अम्लिसोको कुचोबाट प्रशस्त आम्दानी हुन थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।

वर्षमा एकपटक उत्पादन हुने अम्लिसो तराईका बजारमा सजिलै बिक्री हुने भएकाले धेरै किसानले यसको खेती गर्न थालेका धनकुटाका कृषक दिनेश राईलको भनाई छ । एक सिजनमा करिब २५ देखि ३० क्विन्टलसम्म अम्लिसो बिक्री हुने गरेको राईले जानकारी दिनु भयो । ओरालो र भिरालो ठाउँमा अम्लिसोको उत्पादन राम्रो हुने गरेको छ ।

राम्रो आम्दानीको स्रोत हुन थालेपछि धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, सुनसरी र पूर्वी पहाडी भेगका धेरै किसानले मकै, कोदो उत्पादन हुने खेती मासेर अम्लिसो खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

यसअघिका वर्षको तुलनामा यस वर्ष मूल्य वृद्धि भएपछि किसान खुसी छन् । मूल्य बढेसँगै उत्पादित सबै अम्लिसो निकालेर बेच्न सुरु गरिएको जनाइएको छ ।

मूल्यमा घटबढ भइरहे पनि यस वर्ष तुलनात्मकरुपमा बढी मूल्य पाएपछि चाँडै बेच्न हतारिएको उनको भनाइ थियो । रोपेको दुई वर्षदेखि घाँससँगै कुचो उत्पादन हुन थाल्ने र मेहनत पनि कम गर्नु पर्ने भएकाले किसान अम्लिसो खेतीतर्फ आकर्षित हुन् ।

 

कृषिउपज बजारस्थलका व्यवस्थापक भट्टराईका अनुसार पूर्वी पहाडी जिल्लामा उत्पादित अम्लिसोको ७० प्रतिशत व्यापार भारततिर हुने गरेको छ । अम्लिसोको मुख्य सिजन पुसदेखि भए पनि यस वर्ष मूल्य बढेकाले किसानले अगाडिदेखि बिक्री गर्न थालेका छन् ।

धरानको बजारमा मात्रै वर्षमा ४५ देखि ५० मेट्र्रिक टनसम्म अम्लिसो बिक्री हुने गरेको व्यवस्थापक भट्टराईले जानकारी दिनुभयो । भारतबाट उच्च माग भएकाले पनि यस वर्ष कुचोको मूल्य वृद्धि भएको उहाँको भनाइ थियो ।

Share: