नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार निकम्मा भएको टिप्पणी गरेका छन्।
बिहीबार च्यासलमा बसेको पार्टीनिकट खेलकुद संगठनको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) नेतृत्वको गठबन्धन सरकारलाई देशद्रोहीको संज्ञा दिए।
उनले जनताको बलमा मौजुदा सरकारविरूद्ध आन्दोलनको खाँचो रहेको बताए।
‘एक जनाले भनेका थिए– कोसँग मेरो गर्धन जोडिएको छ, घाँटी जोडिएको छ। यिनीहरूको सबैको घाँटी एकै ठाउँमा जोडिएको छ। यिनीहरूको घाँटीमात्रै होइन सिंगै शरीर जोडिएको छ,’ ओलीले भने, ‘अंग्रेजीमा भनाइ छ– बर्ड्स अफ् द सेम फिगर फ्लाइ टुगेदर। यी एकै वंश, एकै नश्लका हुन्। र यी भ्रष्टाचारी वंशका हुन्। यी कमिसनतन्त्रीय वंशका हुन्। यिनको गोत्र निकम्मा गोत्र हो। यिनको जात देशद्रोही हो।’
उनले जनताको बलमा आन्दोलनमा उत्रनुपर्ने र देश बर्बाद हुनबाट जोगाउनुपर्ने आवश्यकता रहेको बताए।
उनले सरकार तरकारी बारीको बुख्याँचाजस्तो भएको पनि टिप्पणी गरे। विरोधीहरू एमालेविरूद्ध एक्लै लड्ने् आँट नगरेको भन्दै उनले यसमा गर्व गर्नुपर्ने बताए।
‘हामीले गर्व गर्नुपर्छ– विरोधीहरू एक्लै लड्नेभिड्ने आँटै गर्दैनन्। हामी मात्रै हो, एक्लै लड्छौं भन्ने। हामी लड्यौं। तर सबै भएर, स–साना अंकहरू जोडेर उनीहरूले सरकार बनाएका छन्। सरकार कस्तो छ भने तरकारी बारीको बुख्याँचाजस्तो छ,’ उनले टिप्पणी गर्दै भने।
उनले मौजुदा सरकारले केही गर्न नसक्ने पनि बताए।
‘अहिले त त्यसका टाउकामा सुगा पनि बस्छ। त्यसका टाउकामा काग पनि बस्छ। सबै बस्छ। किनभने सबैले चिनिसके–यो बुख्याँचा हो भनेर। त्यस्तो बुख्याँचा, निकम्मा सरकार छ। सरकार निकम्मा मात्रै भइदिएको भए हुन्थ्यो!,’ उनले भने।
अध्यक्ष ओलीले सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षक भएको बताए।
‘कमिसनखोरी र त्यसको संरक्षण, तस्करी र त्यसको संरक्षण, आयोजक र संरक्षक छ सरकार!,’ उनले थपे।
उनले यस स्थितिमा ‘मिसन २०८४’ भनेर पर्खन नसकिने उनले बताए।
‘देश बरबाद हुन लाग्यो भने कहाँ मिसन २०८४? ०८४ को चुनाव भनेर पर्खिएर बसेर हुन्छ? उस्तै पर्यो भने यो गठबन्धन भत्काएर..!,’ उनले भने, ‘यी लोभिपापीहरू नभत्कन सक्छन्!’
त्यसैले जनताको बलमा आन्दोलन गर्नुपर्ने उनले बताए। यसकारण पार्टीलाई संगठित र अनुशासित बनाउनुपर्ने आवश्यकता रहेको पनि उनले बताए।