झापा/
समुदायमा कांग्रेस अभियानका लागि झापा पुगेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासामु विभिन्न तहका कार्यकर्ताहरुले गुनासै-गुनासाका पोका थुपारेका छन् ।
सोमबार बिहान दमकमा भएको अन्तरक्रियामा धारणा राख्ने अधिकांशले गठबन्धनका कारण कांग्रेसको मौलिकता र सिद्धान्त हराएको, नेतृत्वमा नैतिकताको खडेरी परेको, पार्टी विचार शून्य भएको भन्दै अब माओवादी बोकेर हिंड्न नसक्ने चेतावनी दिए ।
‘हाम्रै साथी मार्नेसँग कसरी सँगै हिंड्ने ? कांग्रेसका साथीहरू काट्दा रगत लत्पतिएको हातसँग कसरी हात मिलाउने ?”- एक सहभागीले आक्रोशित मुद्रामा प्रश्न गरिन्।
सहभागीहरुले एकै व्यक्ति धेरै समय नेतृत्वमा रहँदा पार्टीका गतिविधि चुस्त नभएको, सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले पार्टीको घोषणापत्र अनुसार काम नगरेको जस्ता गुनासाहरु राखेका थिए ।
भ्रष्टाचारी, माफियासँग टाढै बस्न समेत उनिहरुले नेताहरुलाई सुझाव दिए ।
सबैको कुरा सुनेर जवाफ दिने क्रममा नेता कोइरालाले गठबन्धनका बारेमा उठेका सवालमा पार्टी भित्र छलफल हुने र अबका कुनै पनि निर्वाचनमा कसैसँग गठबन्धन नहुने ठोकुवा गरे ।