आफ्नो नाम परिवर्तन गरी नेपाली बालिकालाई भारतको केरला लैजान लागेका वीरगञ्जका एक जना मुस्लिम समुदायका युवक भारतको उत्तराखण्डबाट पक्राउ परेका छन् । १४ वर्षीय बालिकालाई नक्कली माया प्रेममा फसाएर केरला लागिरहेका वीरगञ्जका स्थानीय वर्ष २६ का मोहम्मद इस्राफिल अन्सारी पक्राउ परेको भारतीय प्रहरीले जनाएको छ ।
भारतको उत्तराखण्ड भीम तालबाट अन्सारी पक्राउसँगै बालिकालाई उद्धार गरिएको मानव बेचबिखन नियन्त्रण इकाई एरिया हेडक्वार्टर एसएसबी बेतिया कार्यालय ४७ औं कोर एसएसबी रक्सौलका इन्स्पेक्टर मनोजकुमार शर्माले जानकारी दिएका छन् । बालिकालाई सोधपुछ गर्दा अन्सारीले आफूलाई केरला लैजान चाहेको बयान दिएपछि उत्तराखण्ड प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिएको इन्स्पेक्टर शर्माले बताएका छन् ।
अन्सारीले नाबालिगसँग इन्स्टाग्राममार्फत चिनजान गरेका थिए । आफ्नो वास्तविक नाम लुकाएर किशोरीलाई मुन्ना महतो बताएका थिए । इस्राफिलले संयोगबस एक दिन आफ्नो मोबाइल घरमा बिर्सेको समय उनका एक जना आफन्तले फोन गरेर इस्राफिल कहाँ छ भनेर सोधेपछि मात्र आफूले उनको वास्तविक नामबारे चाल पाएको बताएकी थिइन् । आरोपी मोहम्मद इस्राफिल अन्सारीले सोधपुछका क्रममा यसअघि थप दुई युवतीसँग यसै गरी विवाह गरेर छोडेको बयान दिएको भारतीय प्रहरीले जनाएको छ ।