काठमाडौ, ९ साउन÷उडेको पाँच सेकेन्डमै बुधबार त्रिभुवन विमास्थलमा सौर्य एयरलायन्सको एउटा विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको छ ।
११ः ११ बजे उडेको विमान उडेको ५ सेकेन्डमा नै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिरको भागमा अनस्टेबल भएर तल खसी खाल्डोमा बजारिएर आगो लागेको थियो । एयरलाइन्समा रहेका १९ यात्रुमध्ये १८ को मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार विमानमा क्याप्टेन मनिषरत्न शाक्य (घाइते) भएर बाँचेका छन् भने को–पाइलट सुशान्त कटुवालको मृत्यु भएको प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
रनवे ०२ बाट इन्जिन परीक्षणका लागि पोखरा उडेको सो जहाजमा चालक दलका सदस्य सहित सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेका थिए । विमानमा रहेका कर्मचारीहरू अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडाको पनि मृत्यु भएको छ । आरिफ भने यमनका विदेशी नागरिक हुन् ।