"सरकारले प्रभावकारी काम गर्ने दाबी"

दुई वर्ष पुग्दा राजीनामा दिइहाल्छु – ओली

काठमाडौं, १५ साउन – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्यशैली सन्तोषजनक नभएकाले समीकरण परिवर्तन गर्नुपरेको बताउँदै नयाँ समीकरणको शर्त अनुसार दुई वर्ष पुग्न एकसाता बाँकी रहँदै आफूले राजीनामा दिने बताउनु भएको छ ।

 

मंगलबार नेपाल सरकार संघीय मन्त्रालयका सचिवको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताउनु भएको हो । यसक्रममा उहाँले भन्नुभयो ‘मेरो नेतृत्वमा मेरो सरकार दुई वर्ष चल्ने हो, दुई वर्ष पुग्न एक हप्ता अघि नै मैले राजीनामा गरिसकेको हुन्छु, गर्छ कि गर्दैन भन्ने द्विविधा हुँदैन, त्यसपछि शेरबहादुर देउवाजीको नेतृत्वमा चुनावसम्म जाने हो, यसमा ढुक्क भए हुन्छ ।’

 

यो सरकार कति दिन टिक्ला र भन्ने चर्चा हुने गरेको भए पनि त्यसमा नअलमलिन उनले आग्रह गर्दै भन्नुभयो ‘ठूला दलले आवश्यकता बोध गरेर सरकार बनाएकाले सरकारको विषयमा कुनै भ्रममा पर्नु पर्दैन । टिक्नु मात्र होइन यसले मजाले काम गरेर देखाउँछ ।’
धोका खाएर होइन अहिले देश बनाउन यो काम नगरी नहुने भएकोले इतिहास बोकेका र सामथ्र्य भएका ठुला दुई दलको सरकार बनाएको उहाँको भनाई थियो । राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनमा असाधारण योगदान गरेर प्रमुख स्थान प्राप्त गरेका पार्टी अहिले सरकारमा रहेका स्मरण गराउनु भयो ।

साथै उहाँले अहिलेको सरकारको काँधमा असाधारण चुनौति भएको आएको पनि जनाउनु भयो । चुनौतिलाई गजबसँग सामना गरेर प्रभावकारी रुपमा सरकार चलाउने ओलीले अभिव्यक्ति दिनु भयो ।

Share: