अमेरिका, १२ भदौ । त्रिवेणी साहित्य मञ्चले ग्रेटर ह्यारिसबर्गमा एक भव्य सांगीतिक कार्यक्रमकाबीच द भ्वास किड्स सिजन ३ कि विजेता नेपालीभाषी भुटानी सन्तान अनुया तामाङलाई सम्मानित गरेको गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि ओम अधिकारी गोर्खालीले भाषा बचाउन सके मात्र हाम्रो साहित्य र संस्कृति बचाउन सकिने कुरामा जोड दिनुभयो । सामाजिक अभियन्ता विनय लुइँटेल कार्यक्रमको विशेष अतिथि हुनुहुन्थ्यो ।
सामाजिक अभियन्ता टीबी गुरुङ र विनय लुइँटेलले तामाङलाई द भ्वाइस किड्सको उपाधि जितेकोमा बधाई तथा आभार प्रकट गर्नु भयो ।
गीतकार तथा संगीतकार अगम गुरुङले बधाई दिनुका साथै अनुयालाई अन्तर्राष्ट्रिय स्तरका धेरै मञ्चमा पुगेर गायन मार्फत संसारभर चिनिन हौसला दिनु भयो ।
मञ्चका उपाध्यक्ष प्रेम घिमिरेले मञ्चको तर्फबाट अनुयालाई बधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा नव गायिका कुन्ति गुरुङ, अमृता शर्मा, रानी चिमोरिया र सरिता सुनुवारले गीत गाएर कार्यक्रमलाई संगीतमय बनाउनु भयो । अनुया तामाङले दुईवटा छोटा गीत गाएर सबैलाई मन्त्रमुग्ध बनाउनु भयो ।
अनुयाका बुबा ओम तामाङले छोरी गीत गाउन चयन भएदेखि नेपाली बसाइमा भएका केही दुःख केही सुखका अनुभव सुनाउनु भएको थियो ।
कार्यक्रमको बिट मार्ने क्रममा सभाध्यक्ष केशव बैरागी माइलोले भाषा र साहित्यको विकासका खातिर त्रिवेणी साहित्य मञ्चको ब्यानरमा कथा संग्रह लिएर आउने सन्देश दिनु भयो । अर्की बाल प्रतिभा सुवर्ण शर्मालाई स्वागत गर्ने जानकारी समेत दिनु भएको थियोे । सुवर्ण शर्माले हालै मात्र अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो खेलमा ३ वटा स्वर्ण पदक लिएर आउँदै गरेको सन्देश दिनुभयो ।
मञ्च सचिव नारद आचार्य सुदामाले मिठो शैलीमा संचालन गर्नु भएको कार्यक्रममा मञ्चका उपसचिव अबि बाबु अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्दै सृजनाको यात्राले आफ्नो पहिचान बाँच्ने मिठासपूर्ण उद्घोष अघि सार्नुभयो ।









