कालोबजारी रोक्न खाद्यान्न आयात बढाउने सरकारको निर्णय

दमक, १९ भदौ /   निजी क्षेत्रले मात्रै आयात गर्दा खाद्यान्नको कालोबजारी बढ्ने भन्दै सरकारले खाद्य संस्थान, साल्ट ट्रेडिङ जस्ता संस्थानलाई चाडपर्वमा खाद्यान्न आयातको अनुमति दिएको छ ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वमा खाद्यवस्तुको सहज आपूूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएपछि यसखाले निर्णय  भएको हो । चाडपर्वमा चिनीलगायत सामानमा कालोबजारी गरेर बढी नाफा लिने प्रवृत्ति हुन सक्ने भन्दै साल्ट ट्रेडिङलाई जिम्मेवारी दिनुपर्ने निर्देशन दिनु भएको थियो ।

तिजहुँदै दसैँतिहार लगायतका ठूला चाडपर्व नजिकिदा यो बेलामा अत्यधिक खपत हुने चामल, चिनी, मैदा, तेल लगायतका खाद्यवस्तु अभाव  र कालाबजारी बढने अवस्थाबाट सचेत रहन उपभोक्तालाई पनि सरकारको अनुरोध छ । तर अहिलेसम्म सरकारी भण्डार (खाद्य संस्थान) मा कुल ९५ हजार ३७९.१७ क्विन्टल चामल मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

खाद्य संस्थान अन्तर्गत रहेका २४ वटा जिल्ला शाखा कार्यालयमा ३३ हजार ९९१.५४ क्विन्टल चामल मौज्दात छ ।

 

 

Share: