अमेरिका, २९ भदौ । नेपलिज क्यानेडियन कम्युनिटी सर्भिसेस (एनसीसीएस) ले क्यानडाको टोरेन्टोमा दशैं, तिहार, नेपाल सम्बत् र छैठ पर्वका अवसरमा विशेष ‘सांगीतिक साँझ’ ( फेस्टिभल नाइट) कार्यक्रम आयोजना गर्ने तयारी गरिरहेको छ ।
अक्टोबर ६ अर्थात असोज २० गते एक विशेष सांगीतिक साँझ तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका महासचिव सुदर्शन सापाकोटाले जनाउनु भयो । यस कार्यक्रमले नेपाली चाडपर्वको उल्लास र सांस्कृतिक महत्वलाई उजागर गर्दै क्यानाडामा रहेका नेपाली समुदायलाई एक ठाउँमा जुटाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको उहाँले सुनाउनु भयो । नेपालका विशेष पर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दै आपसी मेलमिलाप र सद्भावना बढाउने सुनौलो अवसरका रुपमा कार्यक्रमलाई लिएर सम्पूर्ण क्यानाडावासी नेपाली समुदायलाई सहभागिताका लागि सादर निमन्त्रणा गरिएको जनाउनु भयो ।
सापकोटाका अनुसार कार्यक्रममा नेपाली सांस्कृतिक भेषभुषासहितको एकल तथा दोहोरी गायन, नृत्यसहितका विभिन्न सांगीतिक प्रस्तुति रहने छ । कार्यक्रममा नेपालक लोक दोहोरी गायक मानसिङ् खडका र पवित्रा काफ्लेका साथै, स्थानीय कलाकारहरूको मनोरम प्रस्तुतिले साँझलाई थप रोचक र आकर्षक बनाउनेगरी कार्यक्रमको तयारी गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रम, क्विन प्यालेस व्यान्क्वेट हल, स्कार्बोरो, टोरोन्टोमा साझ ५ बजे देखि राति १० बजेसम्म हुने तय गरिएको छ ।









