एक्सक्लुसिभ रिपोर्ट

क्वारेन्टिनबाटै अवैध विरुवा भित्र्याउने चलखेल, स्वदेशी नर्सरी समस्यामा

विराटनगर, कार्तिक ११
मोरङको विराटनगरस्थित डायमण्ड नर्सरी । त्यहाँ माटो भरिएका हजारौं विरुवा देख्न सकिन्छ । तर त्यहाँ विरुवा उत्पादनस्थल कतै देखिदैन । त्यहाँ विरुवामा भनें माटो भर्ने काम चाँही लगातार भएको देखिन्छ । अर्थात त्यहाँ सिधै सीमावर्ती भारतबाट विरुवा भित्र्याइन्छ ।

 

माटो सहितका विरुवा अन्य देशबाट नेपाल भित्र्याउन नपाउने प्रावधान छ । डायमण्डमा मात्र नभएर नर्सरी भनेर सञ्चालनमा आएका नेपाल भारत सीमा नजिक रहेका नेपालभरका धेरैले कानुन विपरीतको यसखाले गतिविधि सञ्चालन गर्ने गरेको बुझिएको छ । उनीहरुले अवैध रुपमा सस्तोमा भारतीय विरुवा ल्याएर बिक्री वितरण गर्ने गरेका कारण नेपालमा उत्पादित विरुवाहरुले बजार नपाएर समस्या भइरहेको देखिएको छ । माटो सहितका विरुवा भित्रिन नदिन भन्सार कार्यालयमै रहेको प्लान्ट क्वारेन्टिन कार्यालयले समेत कडाई नगरेको उदाहरण डायमण्ड नर्सरीबाट कार्तिक ७ गते अवैध विरुवा बरामद गरिएको घटनाले पुष्टि गरेको छ ।

 

कृषि विकास मन्त्रालय अन्तर्गत ‘प्लान्ट क्वारेन्टिन प्रक्रियागत कार्यविधि ०६७ /०६८’ मा विदेशबाट आएका विरुवामा धुलो माटो लागेको अवस्थामा रोग सर्ने हिसावले त्यसलाई स्वस्छ विरुवा नमान्ने प्रावधान छ । स्वस्थ नभएको विरुवा नेपाल आयात गर्न नमिल्ने भएकाले त्यसखाले विरुवा ल्याउन नै प्रतिवन्ध रहेको अवस्थामा विराटनगरस्थित प्लान्ट क्वारेन्टिन कार्यालयले डायमण्ड नर्सरीले भारतबाट ल्याएको माटो सहितको एक ट्रक विरुवा कार्तिक ६ गते भित्रिन दिएको देखिन्छ । भन्सारले छोडेपछि राति सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म रानीले माटो सहितको विरुवा भित्रिएको जानकारी पाएर नियन्त्रणमा लिएको थियो । फ्लोरिकल्चर एशोसियसनले त्यसखाले विरुवा भारतबाट ल्याउने कुरामा नियन्त्रण गर्न प्रहरी प्रशासनलाई सुझाइरहेको अवस्थामा विराटनगरमा माटो सहितको विरुवा भित्रिएको एशोसियसनले नै पत्ता लगाएको थियो ।

 

त्यहाँस्थित शसस्त्रका डीएसपी देवराज विष्टले माटो सहितका विरुवा अर्को देशबाट ल्याउन नपाउने प्रावधान विपरीतका विरुवा फेला परेपछि नियन्त्रणमा लिएर कार्तिक ८ गते साँझ नष्ट गरिएको बताउनु भयो । ‘खै अव भन्सार क्वारेन्टिन कार्यालयले कसरी जाँच गर्यो, केही नमुना गमला मात्रै जाँच्दा त्यस्तो भयो कि ? यहाँ हामीले फेला पार्दा सबै नै माटो भएको विरुवा भेटिएपछि नष्ट गरिएको छ ।’ – उहाँले भन्नु भयो ।

 

विराटनगर महानगरपालिका १४ मा महमद हिरा अन्सारीले सञ्चालन गरेको डायमण्ड नर्सरीमा ल्याइएका १२ प्रजातिका ५ हजार १ सय फूलका बिरुवा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । भारतबाट यूपी ६३ एटी ४६७६ नम्बरको ट्रकमा विरुवा ल्याइएको थियो ।
ती विरुवाको भन्सारमा कर समेत काटिएको अवस्था छ । भन्सार काटेर आएका कारण प्रहरी प्रशासनलाई पनि ट्रकमाथि नै कारबाही नगरी विरुवा मात्र नष्ट गर्ने वाध्यात्मक अवस्था सिर्जना भएको देखिन्छ ।

 

माटोबाट मानवसहितमा चाँडो मात्रामा संक्रमण सर्ने भएकाले माटो सहितको विरुवा भित्र्याउन नपाउने कानुनी प्रावधान हो । नरिवलको धुलो अर्थात कोकोपिटमा उत्पादन गरेको स्वस्थ विरुवा भित्र्याउन चाँही पाइने प्रावधान रहेको छ ।

 

उज्यालो खबरले सो सम्बन्धि जानकारी लिन विराटनगर भन्सार कार्यालय परिसर क्षेत्र भित्रमा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक प्रविणकुमार यादवसँग सम्पर्क गर्दा उहाँले सिफारिस गरिएको कागजात बमोजिम विरुवा जाँच गरेको र जाँच गर्दा पनि माटो नभएको विरुवा देखिएको जवाफ दिनु भयो । उहाँले भन्नुभयो ‘यहाँबाट बाहिर लगेपछि कस्ले के के गर्यो हामीले त्यसको सबै जिम्मा लिन सक्दैनौं । यहाँ शसस्त्रले पनि हामीलाई पत्र पठाएको छ । त्यो के हो उहाँहरुनै जान्नु हुन्छ ।’

 

भन्सार कटाएपछि कस्ले के गर्यो होला भन्ने प्रकारको जवाफ दिएर क्वारेन्टिन कार्यालय उम्किन खोजेपनि स्वयम् डायमण्ड नर्सरीका सञ्चालक महमद हिरा अन्सारीले अरुबेला पनि यसखाले विरुवा ल्याउने गरेको र यो पटक माटो मिसिएको विरुवा रहेछ भनेर प्रहरीले नियन्त्रणमा लिएको बताउनु भयो । अन्सारीले आफुले विगत ३० वर्षदेखि भारतबाटै विरुवा ल्याएर विक्री गर्ने गरेको जवाफ दिनु भएको छ ।

 

नेपालमा फलफूलसहितका विरुवा उत्पादनमा बृद्धि हुँदै गइरहेको अवस्थामा स्वदेशी विरुवालाई विस्तार गर्नुको साटो अन्य देशबाट विरुवा भित्र्याउनु कानूनी प्रावधानका हिसावले मात्र नभएर स्वनिर्भरताका हिसावले समेत घातक रहेको विगत ३६ वर्षदेखि नर्सरी व्यवसाय गर्दै आउनु भएका थुलुङ नर्सरी दमक ८ का सञ्चालक मुक्ती किराती थुलुङले उल्लेख गर्नुभयो ।

 

एकातिर रोग संक्रमण सर्न नदिने हिसावको प्रावधानलाई चलखेलका आधारमा भन्सार र क्वारेन्टिन कार्यालयले लत्याउने अनि अर्कातिर आफ्नैमा उत्पादन भएका विरुवालाई प्रवद्र्धन नगरी स्वनिर्भर बन्ने कुरालाई पनि बल नपुर्याउने हो भनें नेपालको स्थिती कहिले सुध्रिएला ?
(क्यामेरामा सुजन भण्डारी)

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने शिक्षामन्त्रीको प्रस्ताव

काठमाडौँ, १७ वैशाख । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न चासो देखाएको छ । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग

विपक्षी दलहरूको संयुक्त बैठक : सरकारका नीतिप्रति कडा आपत्ति

काठमाडौं,१७ वैशाख । नेकपा (एमाले) राष्ट्रियसभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालको अध्यक्षतामा विपक्षी दलहरूको संयुक्त बैठक बसेको छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली

दिगो शान्तिका लागि बुद्धका शिक्षाको महत्व :राष्ट्रपति

काठमाडौं,१७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति, सह–अस्तित्व, मध्यम मार्ग र करुणामा आधारित बुद्धको दर्शनले विश्व समुदायलाई स्थायित्व, सहकार्य र आपसी विश्वासको मार्गतर्फ अग्रसर गराउन

कर्णालीको राजधानीमा खानेपानी संकट

सुर्खेत,१७ वैशाख । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा खानेपानीको गम्भीर अभाव देखिएको छ । दैनिक ३४७ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक पर्ने भए पनि हाल मात्र ८३

अध्यादेशबारे राष्ट्रपतिले आज संविधान विद्हरूसँग परामर्श गर्ने

काठमाडौं,१७ वैशाख। सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज संविधानविद्हरूसँग परामर्श गर्ने हुनु भएको छ् । अध्यादेशबारे छलफल गर्न आज अपरान्ह ४

इरान र अमेरिका बिचको तनाव बढ्दै

तेहरान,१७ वैशाख । इरान र अमेरिका बिचको तनाव बढ्दै जाँदा, इरानले स्ट्रेट अफ होर्मुज र आफ्नो परमाणु कार्यक्रमका विषयमा अमेरिकाको प्रस्तावसामु नझुक्ने संकेत दिएको छ