दमक, कार्तिक १३
घनश्याम पंडित जो २०३२ सालमा झापाको दमक आउनु भएको थियो । दमक आउँदा रित्तै आउनु भएका पंडितसँग धन सम्पत्तीको नाममा हातमा एउटा कला थियो । त्यो हो माटोबाट दियो सहित केही सामान बनाउन जान्ने ।
यो आफ्नो सीपलाई नै सम्पत्तीको रुपमा प्रयोग गर्न भन्दै उहाँले दमक बजार क्षेत्रमा एउटा खाली जग्गा भाडामा लिनु भयो । अनि यहीबाट सुरु गर्नु भएको थियो माटोबाट दियो लगायतका सामान बनाउने पंडित स्टोर ।
अहिले तिहारको बेला सुरु भएको छ । तिहारमा दियो धेरै बिक्छ । बिभिन्न आकार र प्रकारका दियो बनाउँदै बेच्न अहिले उहाँ व्यस्त हुनुहुन्छ । उहाँ अहिले बजारमा प्लाष्टिकका जति पनि दियो आएका छन् तिनको बिक्री भएपनि सबैले दीपावलीमा माटोकै दियोमा दिप बाल्ने गरेको बताउँदै कारोबारमा खास असर नपरेको जनाउनु भयो ।
पहिला पहिला माटोबाट बनेका सामान सुद्ध हुन्छन् भन्ने थियो । पानी पिउने , चिया खाने देखि लिएर अन्य धेरै घरायसी काममा माटाकै भाडा वर्तन प्रयोग हुने गर्दथ्यो । पूजा, पर्व तथा अन्य उत्सवमा पनि माटोबाट बनेका सामग्रीको मनग्य प्रयोग हुने गर्दथ्यो । तर बीचमा माटोको प्रयोग कम अनि प्लास्टिक र स्टिलबाट बनेका सामग्री अत्याधिक प्रयोग बढ्यो । तर अहिले फेरि पकाउने , खाने र पिउने मात्रै नभएर पूजा गर्न र सबै धार्मिक कार्यक्रममा माटोकै सामग्रीको माग बढिरहेको पंडित बताउनु हुन्छ ।
उहाँको दैनिक माटोमै खेल्नु भयो । चक्रमै उहाँको जीवन घुमिरह्यो । यसैबाट उहाँले दमकमा छुट्टै पहिचान बनाउनु भएको छ । यसैबाट आफ्ना छोराछोरीलाई बढाउन, पढाउन तथा व्यवसायिक बनाउन सक्नु भएको छ । माटोको चक्र घुमाएर नै उहाँले दमकको मुख्य बजारमा तीन तले घर बनाउनु भएको छ । केही करोडको लगानीमा आफ्नो छोरालाई पनि उहाँले व्यवसायी बनाउनु भएको छ । यी सबै थोक यही चक्र घुमाएरै भएकोले आफुले गरेको काम र पेशाप्रति उहाँ निकै सन्तुष्ट बन्नु भएको छ ।










