दमक, मंसिर १९
स्वरसम्राटको उपाधि पाउनु भएका कालजयी गीत र संगीतका श्रष्टा नारायणगोपाल गुरुवाचार्यले गाउनु भएको यो गीतलाई उहाँकै श्रद्धा र सम्मानमा भर्खर संगीत सिक्दै गरेका बालबालिकाले प्रस्तुत गरेका छन् । जो झापाको दमकमा रहेको बिहानी कलाकेन्द्रमा गीत संगीत सिक्दै गरेका विद्यार्थीमध्ये हुन् ।
स्वरसम्राट नारायण गोपालको ३४ औं स्मृति दिवसका अवसरमा बुधबार बिहानी कला केन्द्रले आयोजना गरेको कार्यक्रममा त्यहाँका विद्यार्थीहरुले नारायणगोपालले गाउनु भएका कालजयी गीत गाएर गीतसंगीतको ओज र महत्व प्रस्ट्याउँदै उहाँप्रति श्रद्धासुमन चढाएका छन् । कला केन्द्रका सञ्चालक कमला खनाल रिजाल र हेमन्त रिजालको संयोजनमा नारायणगोपाललाई सम्झिने काम भएका हो ।
नारायणगोपालको सम्मानमा गरिने सांगीतिक कार्यक्रमहरुले उहाँलाई सधैं जिवित राख्दै सृजनशील काम गर्नेहरु अमर रहने सन्देश दिएको कार्यक्रमका प्रमुख अतिथि दमक नगरपालिकाका प्रवक्ता एवम् ८ नम्बर वडाध्यक्ष धर्मप्रसाद दाहाल दिपेशले उल्लेख गर्नुभयो । कार्यक्रममा गीत संगीतका सर्जक राम विष्टसहितको उपस्थिती रहेको थियो ।
१ सय ३७ वटा गीत गाउनु भएका नारायणगोपालका अधिकांश गीत कालजयी छन् । जादुमय स्वरका धनी नारायणगोपाल आशगोपाल गुरुवाचार्य र रामदेवी गुरुवाचार्यको सन्तानका रुपमा १९९६ असोज १८ गते काठमाडौंमा जन्मिनु भएको थियो । घाँटीको समस्यका कारण विसं २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा उहाँको निधन भयो । नेपाली सांगीतिक क्षेत्रमा गहिरो प्रभाव छाडेर संसारबाट विदा भएका स्वरसम्राट अहिले पनि जनजनको मनमनमा जीवन्त जस्तै रहिरहनु भएको छ ।
यसैबीच, स्मृति दिवसकै अवसर पारेर नारायणगोपाल संगीत कोषले काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी संगीतकार बुलु मुकारुङ, गायक कुमार बस्नेत र गीतकार शिवशंकर थापालाई जनही ५१ हजार नगद, ताम्रपत्रसहितको ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ प्रदान गरेको छ ।
अर्कातर्फ नारायणगोपालका डायरी, संस्मरण र चिठीहरूको संग्रहित पुस्तक समेत तयार भएको छ ।