पर्सा, मंसिर २५
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धानका लागि वीरगन्ज ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग मंगलबार पर्सा सरकारी वकिलको कार्यालयमा करिब ४ घन्टा बयान लिइएको छ ।
सरकारी वकिल कार्यालयका मुख्य न्यायाधिवक्ता भोलानाथ निरौलाले लामिछानेसँग बयान लिएका हुन् । बयानको क्रममा लामिछानेसँग ५४ वटा प्रश्न सोधिएको निरौलाले जानकारी दिनुभयो । सरकारी वकिल कार्यालय स्रोतका अनुसार कुनै-कुनै कुराको लामिछानेले ‘कन्फेस’ गरेको जनाइएको छ । ‘पर्सामा रवि लामिछानेको बयान सकिएको छ,’ मुख्य न्यायाधिवक्ता निरौलाले भन्नुभयो, ‘बयानमा करिब ५४ वटा प्रश्न सोधिएका थिए ।’
बयान सकिएपछि पूर्वगृहमन्त्री रहेका लामिछानेलाई जिल्ला प्रहरी कार्यालयमा पुर्याइएको छ । सरकारी वकिल कार्यालयमा बयान भइरहँदा रास्वपाका नेता तथा कार्यकर्ताले वीरगन्जमा विरोध प्रदर्शन गरेका थिए ।
सहकारीको रकम हिनामिना प्रकरणमा कात्तिक २ देखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई वीरगन्जको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि सोमबार साँझ वीरगन्ज ल्याइएको थियो ।









