दमक, पुस ३
आज डिसेम्बर १८ अर्थात् अन्तर्राष्ट्रिय आप्रवासी दिवस । ‘सुरक्षित आप्रवासनका आधार, सूचना र सीपसहितको रोजगार’ भन्ने नाराका साथआज विश्वभर यो दिवस मनाइँदैछ ।
संयुक्त राष्ट्र संघले डिसेम्बर १८, १९९० मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर यो दिवस मनाउन थालिएकोे हो ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा आप्रवासनका चुनौती र अवसरका बारेमा चेतना जगाउन र विश्वभरका आप्रवासीको योगदानलाई मान्यता दिन विश्वव्यापी रूपमा यो दिवस मनाउँदै आइएको छ ।
दिवसको सन्दर्भ पारेर नेपालमा सरकारी, गैरसरकारी, निजी क्षेत्र, ट्रेड युनियन, नागरिक सामाज र आप्रवासी श्रमिक तथा तिनका परिवारको सहभागितामा सप्ताहव्यापी कार्यक्रम आयोजना गरिएका छन् ।
अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आइओइम) द्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन, २०२४ अनुसार विश्वभरी अनुमानित २८ दशमलव १ करोड मानिस आप्रवासीका रूपमा रहेका छन् । जसमध्ये आप्रवासी श्रमिकको संख्या १६ दशमलव ९ करोड छ । नेपालको अर्थतन्त्रलाई गतिशील बनाउन वैदेशिक रोजगारीबाट महत्वपूणर् योगदान रहँदै आएको छ ।









