सानो प्रयासबाट गोलाटारका विद्यार्थीलाई स्वेटर वितरण

दमक, पुस ८
दमक नगरपालिका वडा नम्बर ३, गोलाटारमा अवस्थित जनज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई सानो प्रयास युवा समाज दमक ५ ले जाडोको न्यानो कपडा स्वेटर वितरण गरेको छ ।

 

सोमबार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथि संविधानसभा सदस्य दीपक कार्कीले त्यहाँ रहेका १ सय जना विद्यार्थीलाई स्वेटर वितरण गर्नुभयो । कार्यक्रममा बोल्दै संविधासभा सदस्य कार्कीले सानो प्रयासबाट विद्यालयहरुमा भएको यसखाले सहयोग महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । यस्तै यस्तै हातेमालोमा समाज रुपान्तरण हुने धारणा राख्नु भयो ।

 

विद्यालयका प्रधानाध्यापक धर्मसुन्दर भट्‌टराईसहितका शिक्षक कर्मचारीको उपस्थिती रहेको कार्यक्रममा दमक ३ का वडा अध्यक्ष नवीन बरालको विशेष आतिथ्यता रहेको थियो । वडाध्यक्ष बरालले ग्रामिण वस्तीको विद्यालयलाई हर क्षेत्रबाट माथि उकास्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा संस्थाका अध्यक्ष छवि खतिवडाले सामाजिक उत्तरदायित्वको भावनाले विद्याथीहरुलाई स्वेटर वितरण गरिएको बताउनु भयो ।
कार्यक्रममा संस्थाकी सदस्य तनुजा दुलालले समाज सेवा गर्ने उदेश्यले कोरोना कालमा चार वर्ष अघि  स्थापना गरिएको सानो प्रयासले कोरोनाकालमा समस्यामा परेकाहरुलाई खाना खुवाउने, मास्क र सेनिटाइजर वितरण गर्ने तथा विद्यार्थीहरुलाई कपडासहित सामग्री सहयोग गरेको उल्लेख गर्नुभयो । साथै संस्थाले हरेक महिना कार्यक्रम गर्ने उद्देश्य सहित यस अघि दमक र शिवसताक्षीमा सहयोगका कार्यक्रम अघि बढाएको जानकारी गराउनु भयो ।

 

यसक्रममा, संस्थाले वडा नम्बर ९ मा आर्थिक रुपले अति विपन्न परिवारलाई झुल तथा शैक्षिक सामग्री, दमक ४ स्थित कृष्ण आधारभूत विद्यालयमा कापी कमल वितरण, शिवसताक्षी नगरस्थित पाथीभरा आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण साथै अन्य विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

Share: